२९ करोडको सुन्तला उत्पादन

दमौली, २० साउन (रासस) :तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर कृषकले रु २९ करोड आम्दानी गरेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उक्त आवमा एक हजार छ सय दश हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।

आव २०७८÷७९ मा नौ हजार पाँच सय दश मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस वर्ष एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको थियो । त्यस्तै आव २०७७÷७८ मा रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।

तिवारीले भन्नुभयो, “प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।” जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । उहाँले भन्नुभयो, “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।”

तिवारीका अनुसार देवघाट गाउँपालिका–२ र ३, आँबुखैरेनी गाउँपालिका–५, म्याग्दे गाउँपालिका–४, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

ज्ञान केन्द्रले चालु आव २०८०÷८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले कृषकलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । केन्द्र प्रमुख तिवारीले भन्नुभयो, “भानु नगरपालिकाको रुपाकोटबाहेक सबै पालिकामा सुन्तला उत्पादन राम्रो भएको छ ।”

जिल्लाका स्थानीय तहले पनि सुन्तला खेती गर्ने कृषकलाई सहयोग गर्दै आएको छ । बन्दीपुर गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि यहाँ सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुनै समयमा बन्दीपुरमा सुन्तला उत्पादन अत्यधिक हुने गर्दथ्यो । केही वर्षअघि सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको छ ।

केही वर्षयता गाउँपालिकालगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नम्बर ५ को झारगाउँ, फलामडाँडा र वडा नम्बर ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँ सुन्तला खेतीको पकेट क्षेत्र हुन् ।

बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिनुभयो ।

बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ । यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो ।” उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।