प्रीतम सिंहका नाति चुनावमा उठ्ने
काठमाडौं, २१ श्रावण । नेपालको दुवानी व्यवसायका ‘किङ’भनेर चिनिने प्रीतम सिंहका नाति अङ्गद सिंहले आगामि २०८४ को चुनावमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने बताएका छन्।
काठमाडौं बसोबास गर्ने ३९ वर्षीय अङ्गदले शनिबार वीरगंजमा उक्त कुरा बताएका हुन्। प्रीतम सिंह भारत सरकारको नजीकका व्यक्ति भएको र उनले नै नेपालमा प्रचण्ड नेतृत्वको सरकार बनाउन पहल गरेको भन्दै विवादमा तानिएका छन्।
भारतीय मूलका प्रीतम सिंहले सन् १९५८ मा पहिलोपटक मालसामान ढुवानी गर्ने २३८ नम्बरको ट्रक नेपाल भित्र्याएका थिए। त्यसपछि भारतको पञ्जाब र हरियाणाका सिख धर्मावलम्बीहरू नेपाल प्रवेश गरी घर व्यवसाय गर्न थालेका हुन्।
सिख परिवारको नेपाल पब्लिक मोटर्स सर्भिसेज, मोर्डन इन्डियन स्कूल, जिएचपी स्कूल, वीरगंजलगायतका व्यवसायमा लगानी छ। अङ्गद सिंह प्रधानमन्त्री पुष्पकमल दाहालका निकटम मानिन्छन्।
हजुरबुबा विवादमा तानिएको घटनाबारेमा उनले जथाभावी टिप्पणीले केही पनि नहुने भन्दै उनले आगामी चुनावमा पर्साको क्षेत्र नं ४ को चौतर्फी विकासको मुद्दा लिएर चुनावमा होमिने दाबी गरेका छन्।
५० जना युवा समूहसँगै वीरगंज पावरहाउसस्थित गुरुद्वारमा भेटिएका अङ्गदलाई अबिर र टीका लगाइ समर्थकहरूले स्वागत गरेका थिए। उनी आगामी तीन वर्षमा काठमाडौं- पर्सागढीमा चुनावी सरमर्गी बढाउने तयारीमा छन्।
उनी शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासका मुद्दा लिएर चुनावमा होमिने बताइएको छ।


