‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु’- क्रिस लिन
एजेन्सी – अष्ट्रेलियाका स्टार ब्याटर तथा मोन्टरिएल टाइगर्सका कप्तान क्रिस लिनले ग्लोबल टि२० क्यानडाको उपाधि जितेपछि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँग माफी मागेका छन् । फाइनल खेलमा सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै उपाधि जितेपछि लिनले दीपेन्द्रलाई गराएको रिटायर आउट गर्न भएको कारण माफी मागेका हुन् ।
‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु । मैले आफ्नो खेल जीवनमा कहिले पनि सोचेको थिइन ब्याटरलाई रिटायर हुन भन्नेछु । तर जब टोलीमा आन्द्रे रसल जस्ता खेलाडी हुन्छन्, उनले हाम्रो टोलीलाई मजबुत बनाउँछन् । म दीपेन्द्रसँग माफी माग्न चाहन्छु, तर सबै खुसी हौं कि हाम्रो निर्णय सही सावित भयो र हामी च्याम्पियन बन्यौं’, लिनले खेलपछि भने ।
१८ औं ओभरको अन्तिम बलमा दीपेन्द्र रिटायर्ट हर्ट आउट भएका थिए । जितको लागि १ सय ३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको टाइगर्स १८ ओभरमा १०६-५ को अवस्थामा थियो । टिमलाई जितको लागि अन्तिम १२ बलमा २५ रन आवश्यक परेको थियो । दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रन बनाएको अवस्थामा रिटायर्ट आउट भएका थिए ।
रसेलले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँदा रसेलले अन्तिम बलमा छक्का हान्दै खेल जिताएका थिए । अमार खालिदलाई दुई छक्का हान्दै च्याम्पियन बनाए । अन्तिम बलमा दुई रन चाहिँदा छक्का प्रहार गरेका थिए ।
टाइगर्सका कप्तानले लिने दीपेन्द्रको तारिफ पनि गरे। ‘दीपेन्द्रले प्रतियोगितामा राम्रो गरे । १-२ खेलबाहेक अन्यमा खासै अवसर पाएका छैनन् । कहिले बलिङ पाएनन् त कहिले ब्याटिङ । तर पनि उनको जोशमा कुनै कमी आएको छैन । उनले टोलीको मनोबल पनि बढाएका छन् । र हाम्रो पहिचान पनि यही बनेको छ । मैदानमा जे जस्तो भएपनि हामी एक अर्कालाई साथ दिएर अघि बढेका छौं’, उनले दीपेन्द्रको तारिफ गर्दै भने ।
प्रतियोगितामा दीपेन्द्र टाइगर्सको लागि सर्वाधिक रन बनाउने ब्याटरमा तेस्रो नम्बरमा रहे । दीपेन्द्रले ६ इनिङमा १ सय ४३ बल खेल्दा १ सय ४० रन बनाए । उत्कृष्ट प्रदर्शन २८ रहँदा स्ट्राइकरेट १०२।१४ र कुल १२ चौका प्रहार गरे ।
दीपेन्द्रले खेलमा दुई विकेट लिएका थिए । तल्लोक्रममा ब्याटिङ गरेका दीपेन्द्र रन भन्दापनि साझेदारी निर्वाहमा बढी ध्यान दिएका थिए । फिल्डिङ भने दीपेन्द्रको त्यतिनै उत्कृष्ट रह्यो ।


