सुनील शर्मालाई थुनामा राख्न अदालतले अनुमति दिएन
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लगिएकामा अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।
मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई भारतबाट प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि पक्राउ गरेको हो ।
विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले सोही प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।
उनी काठमाडौं मेडिकल कलेज, पिपल्स डेन्टल कलेज र चिकित्सा शिक्षा तयारीका लागि अध्ययन गराउने संस्था भाइब्रेन्टका लगानीकर्ता पनि हुन् । उनले अध्ययन गरेको भनिएको शिक्षालयले पनि प्रमाणपत्र नक्कली रहेको पुष्टि गरिसकेको छ ।


