सत्तामा टिकिरहन मलाई पक्राउ गरियो, नैतिकताका आधारमा राजीनामा दिनुस् : सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले यस्तो बताएका हुन् ।

सांसद शर्माले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताए । उनले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताए ।

सांसद शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री प्रचण्डले हतकडी लगाएर गुन तिर्नुभएको बताए । उनले कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए ।

उनले भने, ‘सुन तस्करका संरक्षकहरु विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरुले राजीनामा दिनुपर्छ । मैले यो मागसहित अनसनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो । यो ३० वर्ष पुरानो फाइल, मलाई तेस्रो पटक गिरफ्तार गरिएको हो । मेरो एजेण्डामा सबै विपक्षी साथीहरुले उभिएर मेरो पक्षमा आवाज बुलन्द गर्नुभएको छ । मेरो पिताजीको सरह रोल निर्वाह गर्नुभएको, राष्ट्रनायकको रुपमा उभ्याउनुभएको आफूलाई केपी शर्मा ओली हुनुहुन्छ, उहाँ र उहाँको पार्टीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि । मेरो अडान सुन तस्करका संरक्षकहरु छोड्नु हुँदैन । प्रधानमन्त्रीको निर्देशनमा मेरो गिरफ्तारी भएको छ । मैले लगाएको गुनको पैँचो हतकडी लगाएर तिर्नुभएको छ । उहाँलाई शान्ति सम्झौताका लागि गिरिजाबाबुसँग सम्पर्क गराउने मान्छे हामी हौँ । माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन ।’

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीले सत्तामा बसिरहन नैतिकताले नदिने बताए । शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआईबीले बिहीबार पक्राउ गरेको थियो । सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।