पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

काठमाडौँ, २७ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिनुभयो ।

सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ एवं जानकारहरुले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् ।

पर्यटन मन्त्रालयले पनि विभिन्न समयमा पर्यटन ऐनको मस्यौदा तयार गरेर चरणबद्ध छलफल गर्दै आएको थियो । पर्यटनमन्त्री किरातीले विज्ञ सरोकारवालाको राय सुझाव लिएर पर्यटन ऐन बनाईने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको समयसापेक्ष विकासका लागि पर्यटन ऐन बनाउँदैछौँ, आइतबारदेखि एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्छु ।”

पर्यटनमन्त्री किरातीले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने बताउनुभयो । उहाँले प्राकृतिक र सांस्कृतिक रुपमा समृद्ध रहेको भोजपुरको इतिहास र समग्र विकासलाई केन्द्रविन्दुमा राखेर विकासको ढाँचा बनाइनुपर्ने तथा त्यसलाई देश विकासको नयाँ ढाँचाको रुपमा स्थापित गर्नसकिने दाबी गर्नुभयो । भोजपुरको टक्सारको संरक्षण, सांस्कृतिक गाउँ, सङ्ग्रहालयको अवधारणा अघि सारिएको र यसका लागि सबैको सहयोग तथा सहकार्य चाहिने उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाले गौरवशाली इतिहास बोकेको अथाह सम्भावनायुक्त भोजपुरको भविष्य राम्रो रहेको उल्लेख गर्नुभयो । भौतिक प्रगतिका हिसाबले केही पछि परे पनि शैक्षिक उन्नयनमा भोजपुर अग्र स्थानमा रहेको उहाँले उल्लेख गर्नुभयो । शिक्षा, पर्यटन, कृषि, खेलकुद आदि क्षेत्रमा भोजपुर देशकै नमूना जिल्ला बन्न सक्ने भएकाले सबै सरोकारवालाले जिल्लाको विकासमा ध्यान दिनुपर्ने कोइरालाले खाँचो औँल्याउनुभयो ।

पूर्वमन्त्री हेमराज राईले भोजपुरको सम्भावनालाई विकास र समृद्धिमसित जोड्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री टङ्क ढकालले भोजपुरको समग्र विकासका लागि रणनीतिक ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले भोजपुरको इतिहासलाई केन्द्रमा राखेर विकासमा सबै सरोकारवालाले ध्यान दिन जरुरी भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) भोजपुरका संयोजक नगेन्द्र भुजेल, नेकपा (एमाले) का केन्द्रीय सदस्य परशुराम अधिकारीलगायतले भोजपुरको विकासका लागि सबै सक्रिय ढङ्गले जुट्नुपर्ने औँल्याउनुभयो ।

दावाली मिलन केन्द्रका अध्यक्ष रोशन श्रेष्ठले भोजपुरको विकासका लागि काठमाडौँमा सरकारी सेवा, पेशा, व्यवसायमा रहेका सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयो । भोजपुर पौवादुङ्मा सेवा समाज काठमाडौँका अध्यक्ष सीताराम कार्कीले भोजपुरको समग्र विकास र हितका लागि काठमाडौँमा बस्ने राजनीतिक दलका नेता, विभिन्न पेशा व्यवसायमा आबद्धले के–कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।