महराका बारेमा प्रहरीले आज-भोलिमै निर्णय गर्छ: प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९ किलो सुन तस्करीमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराबारे प्रहरीले आज-भोलि निर्णय गर्ने बताएका छन्।
मंगलबार बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै मावओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने कुरामा आफू स्पष्ट रहेको बताए।
‘मैले महराजीलाई पनि बोलाएर यो प्रकरणमा तपाईंको कुरा के हो क्लियर गर्नुस् भनेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘प्रहरीको नेतृत्वलाई निष्पक्ष छानबिन गर्नुस्। दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनेको छु।’
विद्युतीय चुरोटमा ९ किलो सुन ल्याइएको प्रकरणमा प्रहरीले अनुसन्धान गर्दा तयार पारेको प्रतिवेदनमा तस्करी गर्ने चिनियाँ नागरिकसँग उपाध्यक्ष महराका बाबु-छोराको सम्पर्क भएको लिंक चार्ट समावेश गरिएको छ।
‘यस विषयमा पनि मैले प्रहरीलाई महराजीहरूको संलग्नता भए अनुसन्धान गर्नुपर्थ्यो, मुद्दा चलाउनुपर्थ्यो भनें। दोषी छैनन् भने पनि आमनागरिकलाई उनीहरूको संलग्नता छैन भन्नुपर्थ्यो,’ प्रधानमन्त्रीले भने।
महराका बाबु-छोराको सुन तस्करीमा संलग्नता छ भने अहिले पनि बोलाएर बयान लिन र अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उनले बताए।
‘यो विषयमा मैले पार्टीभित्र पनि कुरा गरेको छु। प्रहरीलाई पनि भनेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने,‘महराजीबारे प्रहरीले आज-भोलिमा के गर्ने भन्ने निर्णय गर्छ।’


