ओलीलाई प्याकुरेलको खुलापत्रः तपाईंको चित्र नराखी नहुने गरी उधुम मच्चाइएको छ !
मानवअधिकारवादी अभियन्ता सुवोधराज प्याकुरेलले नेकपा एमालेका कार्यक्रमहरूमा अध्यक्षबाहेकको तस्वीर राख्न नपाइने सर्कुलरप्रति कडा टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै उनले यो निर्णयको तीव्र आलोचना गरेका हुन् ।
प्याकुरेलले लेखेका छन्, ‘एमाले विचार र व्यवहारले पाको पार्टी हो । वैचारिक काम कमजोर भएपछि व्यक्ति, व्यक्तिको वैयक्तिक श्रृङ्गार सुरु हुन्छ ।’
खुलापत्र
कमरेड केपी,
हरेक विषयमाथि बाट निर्देश गर्नुपर्ने हुँदैन ।असल संस्कारको सुरुवात आफू संलग्न हुने कार्यक्रममा वरिष्ठहरूले गरिदिए बाँकीले सखुशी अनुसरण गर्छन् ।
तपाईं आफैँले महाराजहरुको स्वस्तिवाचन प्रथालाई गर्नुभएको व्यङ्ग्य र जातअनुसार पहिरन गर्नुपर्ने टोपीको शैलीको विरोध कसरी गर्नु भएको थियो भन्नेकुरा साक्षी छ । हरेक कार्यक्रममा सहभागीलाई बताउनुपर्ने कि तपाईं सम्माननीय पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । व्यक्ति पिच्छेले स्मरण गराइदिनुपर्ने कि तपाईं श्रद्धेय अध्यक्ष, राजनेता बा अनि अरु के के हो हुनुहुन्छ ? पार्टीको कार्यक्रममा कमरेडभन्दा माथिका दर्जा र व्यवहारमा कमरेडीपनभन्दा माथि अनेक फुँदा जोडिँदा कसरी दङ्ग पर्न सकिन्छ ? अचेल सहभागिताको प्रमाणपत्रदेखि पार्टी कार्यालयले ढोका कोठा सर्वत्र तपाईंको चित्र नराखी नहुने गरी उधुम मच्चाइएको छ । प्रदेश सम्मेलनको मुखैमा प्रदेश प्रमुख तपाईंसँग कुम जोडेको फोटो हाल्छन् र लेख्छन, श्रद्धेय अध्यक्षबाट निर्देशन लिएँ । दुनियाँले अर्थ लगाउँछ, नेतृत्व छनोटमा आदेश मिल्यो, तदनुसार नेता छानिने छन् ।
एमाले विचार र व्यवहारले पाको पार्टी हो । वैचारिक काम कमजोर भएपछि व्यक्ति, व्यक्तिको वैयक्तिक श्रृङ्गार सुरु हुन्छ । पार्टीको लोकतान्त्रीकरणका लागि तपाईंको कर्म मिहेनत र त्यसमा गाँसिए बापत प्रताडित गरिएकाहरूलाई सम्झिनुस् र निर्णय गर्नुस् । अति भक्ति चौरस्य लक्षणम् । तपाईंको तेजोवध गर्ने हरिया झिङाहरू धेरै भए । तिनले जान्ने कुरा ग्लेमर हो ।
किसानले गर्ने सार्वजनिक कार्यक्रममा क तुलसीलाल, महिलाले गर्ने कार्यक्रममा क साहना र स्थानीय कार्यक्रममा सान्दर्भिक शहीदको चित्र कसरी आउट गर्नु हुन्छ ? विवेकपूर्ण काम व्यवहारबाट स्थापित गर्दै लैजानुपर्छ र समय, विषय सान्दर्भिक हुन्छ । चुनावमा गरिने सार्वजनिक कार्यक्रममा तपाईंको चित्र नभए पनि हुन्छ तर उम्मेदवारको चित्र अनिवार्य हुन्छ ।
अन्त्यमा, हरेक कार्यक्रममा राष्ट्रगान र मौन धारण अनिवार्य हुँदैन । त्यो तपाईंलाई बढी थाहा छ । सिनेमाहलमा राष्ट्रगान, रोदीघरमा राष्ट्रगान घन्काउन लगाउने पञ्चायतकालीन भाटगिरी तपाईंलाई थाहा छ । कृपया आलोचना र विरोधबीचको फरक, नेता र नेतृत्वबीचको फरक अनि पार्टी र पदाधिकारीबीचको फरकका बारेमा तपाईंका निकट, अति निकट, विशिष्ट निकटका महानुभावहरूलाई दीक्षित गरिदिनुस् । एमाले एमालेका दर्जावालहरूको मात्र होइन सिङ्गो नेपाल नेपाली र कतिपय सन्दर्भमा विश्वका न्याय समानता र समन्यायका पक्षपातीहरूको पनि पार्टी हो ।


