चामलपछि प्याजमा पनि भारतले लियो एक्सन, ४०% निर्यात करले नेपालमा कति पुग्ला भाउ?
काठमाडौँ, ३ भदौ । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतले प्याजमा निर्यात कर लगाएको हो । भारतीय वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो । कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ ।
हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ । नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ ।
यता, भारतबाट चामल आयात हुन छाडेपछि बोरामा नै २०० देखि २५० रुपैयाँसम्म मूल्य बढेको छ । भारतले यही साउन ४ गतेदेखि चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको भाउ एकाएक बढेको हो ।
गत साउन ४ गते भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यात नगर्ने बताएको थियो । मनसुनका कारण धान उत्पादन कम भएका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अवस्था सिर्जना हुनबाट रोक्न भारतले निर्यातमा रोक लगाएको थियो । भारतबाट आएको चामलबाट नै नेपालको भान्सा निर्भर रहेको छ । भारतबाट चामल आयात हुन छाडेपछि भान्सा मंहगिएको छ । भारतले प्याजमा पनि ४० प्रतिशत निर्यात कर लगाएपछि नेपालमा प्याजको ‘सटेज’ हुने र मूल्य बृद्धि हुने भएको छ ।


