झाडी फाँडेर कागती खेती

गण्डकी, ६ भदौ (रासस) ः दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनुपर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गर्नुभएका स्थानीय किसान टुकाराम लामिछाने यतिखेर सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

नेपाल सरकारको जागिर छोडेर पाँच वर्षअघि सुरु गरिएको व्यावसायिक कागती खेतीले आम्दानी दिन थालेको उहाँले जानकारी दिनुभयो । “बेगनास तालको जलाधार क्षेत्रअन्तर्गतको भिरोलो पाखोमा लगाइएका सात सय कागतीका बिरुवाले फल दिन थालेको छ” लामिछानेले भन्नुभयो, “दिनमा ५० केजीसम्म कागती उत्पादन हुने गरेको छ प्रति केजी रु एक ५० मा बिक्री गर्दा रु दैनिक सात हजार पाँच सय आम्दानी हुने गरेको छ ।”बाँदरलगायत वन्यजन्तुले नोक्सान नगर्ने, रोग कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नुनपर्ने र बजार पनि राम्रो भएका कारण कागती खेतीमा भविष्य देखेको उहाँको भनाइ थियो ।

धरानको पाख्रीवासबाट प्रतिगोटा दुई सयका दरले विरुवा खरिद गरेर २०७५ साल साउनमा रोपिएका सोना जातका सबै कागतीका बिरुवाले फल दिन थालेका छन् कागती रसिलो भएका कारण बजारको माग पनि राम्रो छ । स्याङ्जास्थित कृषि ज्ञान केन्द्रको सिफारिसमा लगाइएका उन्नत जातको लेमनका दुई सय बिरुवा लटरम्म फलेका छन् लगभग १० क्विन्टल फल उत्पादन भएको छ ठूलो आकारको फल भए पनि बजार भने नपाइएको लामिछानेले रासससँग गुनासो गर्नुभयो । कागतीको बोटले फल धान्न नसकेर हाँगा भाँचिन थालेका छन् ।

रोपेको चार वर्षमै फल दिन सुरु गरेको कागतीको एउटै बोटले रु १२ हजार बराबर ८० किलो फल दिएको थियो” उहाँले भन्नुभयो, “कागतीको फल बिक्रीबाट अघिल्लो वर्ष रु आठ लाख कमाइएको थियो, यसवर्ष रु २० लाखभन्दा बढी आम्दानी हुने विश्वास छ ।” पछिल्लो समय चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग अत्याधिक रहेको छ सम्भवत कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरु गर्नुभएका लामिछानेले भन्नुभयो,“राज्यको तर्पmबाट किसानलाई आवश्यक सहयोग हुने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।”

कागती खेतीभित्र अन्तरबालिका रुपमा तरुल र अकबरे खुर्सानी रोपिएकोे बताउँदै उहाँले थप्नुभयो, “पहिलो वर्ष तरुलबाट रु सात लाख र दोस्रो वर्ष अकबरे खुर्सानीबाट रु छ लाख आम्दानी भएको थियो ।” किसान लामिछानेले भन्नुभयो, “माघे सङ्क्रान्तिका अवसरमा प्रदेश सरकारद्वारा ढङ्गेसाँघुमा आयोजित कन्दमूल मेलामा तरुललाई प्रथम पुरस्कमार दिएर आफूले रु १० हजार प्राप्त गर्न सफल भएको र यसबाहेक सरकारीस्तरबाट आजसम्म कुनै पनि सहयोग प्राप्त भएको छैन ।”

समुद्री सतहबाट लगभग नौ सय मिटरको उचाइमा बेगनासतालसँगै रहेको उहाँको बगैँचामा यसैवर्ष स्याउसमेत फलेको छ । परीक्षणका लागि लगाइएको एउटा स्याउको बोटमा आठदेखि १० वटा फल फलेको किसान लामिछानेले जानकारी दिनुभयो । व्यावसायिकरुपमा कागती खेतीसहित, टिमुर, एभोकाडो, अमला, ओल, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, स्याउ, ठूलो बयर, रातो केरालगायत विभिन्न जातका फलफूलका बोटबिरुवा उहाँले लगाउनुभएको छ ।

उत्पादित फल बिक्री वितरणका लागि बजार जानुपर्ने, व्यापारीले समयमा पैसा नदिने हुँदा बगैँचामा दिने समय बाहिर खर्च हुने हुँदा अप्ठेरो परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, कृषि उत्पादन बारीबाटै उठाइदिने व्यवस्था गर्ने हो भने व्यवसायमा किसानको आकर्षण बढ्ने, आयातित वस्तुलाई विस्थापन गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामासमेत योगदान पुग्ने छ । लिप्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरिएको बताउँदै लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित रु तीन लाख खर्च भएको बताउनुभयो ।

प्रत्येक चार–चार मिटरको फरक एवम् एक–एक मिटर गहिराई र चौडाइका खाल्टामा विरुवा रोपेर सुरु गरिएकोे कागती खेतीमा रु ७० लाखभन्दा बढी खर्च भएको उहाँको भनाइ थियो । स्याङखुदीमा सुरु गरिएको खेतीले कास्कीमा सुन्तलाजात हराएको छैन भन्ने प्रमाणीत गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । टिपेको दुई हप्तासम्म पनि नबिग्रने, बाँदरले नखाने बढी भएमा अमिलो बनाउन सकिने कागतीखेतीको विस्तारका लागि महानगरले वार्षिक रु आठदेखि १० हजार बिरुवा किसानलाई वितरण गर्दै आएको बताउँदै उहाँले बाँझो तथा भिरालो पाखोलाई पहँेलो सुनको रुपमा लिन र व्यावसायिक कागती खेतीले पोखरालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖