बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

हेमन्त केसी/ जाजरकोट, ९ भदौ : उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् । गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन् ।

त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । त्यस्तै वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गरेको छ । स्याउ बोटमा राम्रोसँग नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ । बजारको अभावमा प्रत्येक वर्ष कृषकले उत्पादन गरे जतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ विचौलिया व्यापारीलाई प्रतिकिलो रु २० देखि ३० बेच्न बाध्य भएको कार्यालयको भनाइ छ ।

जिल्लामा स्याउको राजधानीको रूपमा परिचित रङ्ग गाउँमा ‘एक घर, एक स्याउ बगैँचा’ छ । प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै खरिद नगर्ने कृषकको गुनासो छ । स्याउ बगानमा तीन वर्षयतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाबाट स्याउ किन्न व्यापारी घरमै पुग्ने गरेका छन् । नपाक्दै बोटमै विचौलिया आइपुग्ने रङ्गका कृषक तारा बुढाले बताउनुभयो । बजार अभाव, सडकको असुविधा, ढुवानी समस्यालगायत समस्याका कारण नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्य हुने स्थानीय स्याउ कृषक हरि बुढाले बताउनुभयो ।

“स्याउ राम्रोसँग भदौ अन्तिममा पाक्छ, तर व्यापारी कृषकको समस्याको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्, कृषक बाध्य भएर मात्र रु २० देखि ३० मा स्याउ बगैँचा जिम्मा लाउन बाध्य हुनुपर्छ”, उहाँले दुःखेसो पोख्नुभयो । “राम्रोसँग पाकेको स्याउको स्वादै मिठो हुन्छ, यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत सहरमा प्रतिकिलो रु दुई सयभन्दा धेरैमा बेच्ने गर्छन्”, उहाँले थप्नुभयो ।

अर्का कृषक रुद्री बुढाले यस वर्ष ११ क्विन्टल स्याउ जम्मा ३५ हजारमा बेचेको दुःखेसो पोख्नुभयो । “मेरो बगैँचामा तीन सय बोट स्याउ छन्, पछि बिक्री हुँदैन कि भन्ने चिन्ताले साउन अन्तिममा नै सस्तो मूल्यमा स्याउ बगैँचा नै जिम्मा लाइसकेँ”, बुढाले थप्नुभयो, “व्यापारीले बोटमै प्रतिकिलो रु ५० किलोसम्म पाए कृषकलाई केही राहत हुन्छ, तर व्यापारीले बढीमा रु ३० भन्दा धेरै हाल्न मान्दैनन्, बेचौँ घाटा छ, नबेचौँ पछि बिक्री गर्न समस्या हुन्छ ।” । विचौलिया व्यापारीले डोल्पाबाट लिएको स्याउबाट पाँच गुणाभन्दा पनि धेरै फाइदा खाने गरेको उहाँको भनाइ छ ।

अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषकले बताएका छन् । नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । त्यसैगरी वडा नम्बर ३ जिउँका कृषक रामबहादुर गुरुङले पनि तीन सय बोट स्याउ रोप्नुभएको छ । उहाँको बगैँचामा प्रत्येक वर्ष तीस क्विन्टलसम्म स्याउ फल्ने गर्छ, तर उहाँलाई पनि प्रत्येक वर्ष उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्दछ ।

“बगैँचा नै राताम्य हुने स्याउ फलेको छ, डोल्पामा सबै स्याउ खपत हुने ठूलो बजार छैन, जिल्ला बाहिरका बजारमा लैजाउँ भने कच्ची बाटो र ठाउँठाउँमा पुल नहुँदा एक दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ, यसरी लैजाँदा स्याउको मूल्यभन्दा ढुवानी रकम धेरै हुन्छ”, उहाँले भन्नुभयो, “डोल्पासम्म सडकको राम्रो सुविधा भएको भए बर्सेनि लाखौँ रुपैयाँ डोल्पाली कृषकले कमाउँथे, जिल्ला बाहिरबाट काँचै स्याउ सस्तो मूल्यमा किन्ने व्यापारी त आएका छन्, भने जतिको मूल्य नपाइने भएकाले बिक्री गरेको छैन ।”

सोही गाउँका स्याउ कृषक जसमान केसीले पनि सात रोपनी क्षेत्रमा स्याउ लगाउनुभएको छ । उहाँलाई पनि उत्पादन भएको सबै स्याउ बिक्रीको चिन्ता छ । गाउँका धेरैजसो कृषकले रु २० देखि ३० मूल्यमा काँचै स्याउ बिक्री गरे पनि आफूले बिक्री नगरेको उहाँले बताउनुभयो । कृषकले वर्षभरि दुःख गरेर उत्पादन गरेको स्याउ राम्रोसँग पाकेपछि भदौ अन्तिममा मात्र बेच्न पाउने समय निर्धारण गरी मूल्य तोकिदिएको भए धेरै राहत हुने त्रिपुरासुन्दरी नगरपालिका–४ का अध्यक्ष रञ्जित बुढाले बताउनुभयो ।

नगरपालिकाले मूल्य निर्धारणमा चासो नराख्दा कृषक मारमा र विचौलिया व्यापारी फाइदामा भएको उहाँको भनाइ छ । उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा प्रत्येक वर्ष लाखौँ रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पाबाट नेपालगन्ज, सुर्खेतसम्म सीधा गाडी पुग्ने व्यवस्था नहुञ्जेलसम्म स्याउ कृषक सधैँ मारमा पर्ने कार्यालयको भनाइ छ । डोल्पामा चार सय १२ हेक्टर जमिनमा स्याउ खेती गरिएको र प्रत्येक वर्ष तीन हजार दुई सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताउनुभयो । त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालाई काँचो स्याउ बिक्री–वितरणमा रोक लगाउन भने पनि चासो नदिएको उहाँको भनाइ छ । यस वर्षदेखि त्रिपुरासुन्दरी नगरपालिकाले व्यापारीबाट प्रतिकिलो एक रुपैयाँ ५० पैसा ढुवानी कर लगाउन सुरु गरेको छ । डोल्पामा स्थानीय जातको रेड, गोल्डेन स्याउ उत्पादन हुने गर्दछ ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।