केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो

भजनी (कैलाली), १३ भदौ : कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ । कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ । प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।

छलफलका क्रममा कार्यदलका संयोजक कृषि वैज्ञानिक डा रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताउनुभयो । “हामीले नमूना लिएर परीक्षण गरेका बारीमा पुग्दा स्थिति डरलाग्दो छ । त्यहाँ ६०÷६५ प्रतिशत बिरुवामा सङ्क्रमण फैलिएको छ”, डा खड्का भन्नुहुन्छ, “रोग फैलिएको क्षेत्रमा नष्ट गर्नु राम्रो हुन्छ भने अन्य क्षेत्रमा विशेष सावधानी आवश्यक छ । अन्य क्षेत्रको स्थलगत अवलोकन गर्दा सङ्क्रमण फैलिएको पाइएको छ ।”

माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । “रोगको सङ्क्रमण पुष्टि भइसकेपछि हतोत्साहित नभएर रेखदेख गर्नुपर्छ । बारी बाहिरको सामग्री बारीमा नलिने र भित्रको सामग्री बाहिर नलिने व्यवस्था मिलाउन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “विशेषगरी सवारीसाधन र पानीबाट बढी जोखिम भएका कारण बारीमा सवारीसाधनमा रोक लगाउन जरुरी छ ।”

कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको सङ्क्रमण फैलिएको देखाएको छ । कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ । बिरुवाबाट तीन–चार महिनामै लक्षण देखिने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफँै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।

कैलाली केरा उत्पादक सङ्घका अध्यक्ष दीपेन्द्र थारूले रोगको सङ्क्रमण देखिएपछि किसान सचेत भएको बताउनुभयो । “विगतमा पनि प्राकृतिक विपत्तिका कारण ठूलो नोक्सानी व्यहोर्दै आएका छौँ । अब यस रोगले केरा किसान विस्थापित हुने अवस्था छ”, उहाँ भन्नुहुन्छ, “केरा नष्ट गर्न तयार छौँ । हामी केरा व्यवसाय छाडेर अर्को गर्न तयार छौँ, राज्यले विकल्प खोजिदिनुपर्यो ।” पानामा रोगको सङ्क्रमण देखिएपछि टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसको ल्याबमा परीक्षणका लागि नमूना पठाउन कार्यदलले किसानलाई सुझाव दिएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।