विकास र सुशासनका लागि लागिरहन्छु : राष्ट्रपति पौडेल

दमौली, ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । दलीय राजनीतिमा नलाग्ने भन्दै उहाँले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताउनुभयो ।

तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।” सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गर्नुभयो ।

संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।” सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो ।

व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको भनाइ राख्नुभयो । सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “दुई ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ । सबै दल मिले मात्रै देश बलियो हुन्छ ।”

सो अवसरमा शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो । यो देशमा केही हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै उहाँले नैराश्यताको फाइदा उठाएर गलत काम गर्नेहरुलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले कुशासनले विकास रोकिएको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले असमझदारीले मुलुक पछाडि परेकाले सबै दलबीच एकता आवश्यक रहेको धारणा राख्नुभयो ।

काठमाडौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले समयमा काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले समृद्ध तनहुँका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको भनाइ राख्नुभयो ।

शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह निर्माण भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । सभागृहमा पाँच सय ९३ जन अट्ने क्षमताको सभाहल छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण भएको छ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङ स्थल समेत रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।