नेपालीको पहुँच बाहिर सिकार

रामबहादुर थापा / गण्डकी, ९ असोज : ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य भए पनि नेपालीका लागि भने त्यहाँको सिकार अनुभव लिनु धेरै टाढाको विषय बनेको छ । नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ ।

लाखौँ रुपैयाँ राजस्व तिरेर गरिने नाउर र झारलको सिकार त नेपालीका लागि झनै पहुँचबाहिर छ । गत आवको पहिलो सिकार याम (असोज–मङ्सिर)मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारमा नेपालीलाई आकर्षित गर्न पहिलोपटक ११ बँदेलको सिकार कोटा तोकेको थियो ।

उक्त याममा तीन नेपालीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि पछि सिकार खेल्न भने गएनन् । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले गत आवको दोस्रो सिकार याम (फागुन–वैशाख)मा पनि बँदेलको सिकार हुन नसकेको बताउनुभयो । चालु आवको पहिलो सिकार याममा पनि बँदेलका लागि नेपाली सिकारीबाट आवेदन नपरेको उहाँको भनाइ छ ।

नाउर र झारल सिकारका लागि भने यही असोज १८ गतेदेखि विदेशी पेसेवर सिकारी आरक्ष क्षेत्र पुग्दैछन् । “महँगो शुल्क र झन्झटिलो प्रक्रियाका कारण बँदेल सिकारमा नेपालीको रुचि देखिएन”, प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “नेपालीलाई सिकार खेल्न हतियारको पनि समस्या छ ।”

विदेशीलाई सिकार खेलाउँदै आएको सिकार कम्पनी ट्र््याक एन्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले लामो दूरीमा प्रहार गर्न सक्ने हतियार नेपालीसँग नरहेको बताउनुभयो । “बँदेललाई पछ्याउन गाह्रो हुन्छ, टेलिस्कोपसहितको हतियार चाहिन्छ”, उहाँले भन्नुभयो, “नेपालीका लागि शुल्क पनि महँगो भयो, बँदेल सिकार प्रभावकारी हुन सकेन ।”

विभागले बँदेलका लागि सिकार आवेदनमा रु पाँच हजार, सिकार अनुज्ञापत्र लिँदा रु १० हजार र एक हप्ताका लागि सिकार ब्लक रिजर्भ गर्दा रु १५ हजार शुल्क तोकेको थापाले बताउनुभयो । “राजस्वबाहेक यातायात, खाना र बासको व्यवस्था गर्नुपर्छ, एउटा बँदेलको सिकार खेल्दा झन्डै रु एक लाख खर्च हुन्छ”, उहाँले भन्नुभयो, “सौखिन र खर्च गर्न सक्ने नेपालीलाई पनि बँदेल सिकार त्यति सहज छैन, बँदेल प्रायः साँझ र रातिमा सक्रिय हुने हुँदा ट्र्याक गर्नै गाह्रो हुन्छ, नेपालीसँग आधुनिक हतियार पनि छैन ।”

थापाका अनुसार नाउर र झारल सिकार गर्ने विदेशी सिकारीले प्याकेजमा बँदेल पनि सिकार गर्न पाइने भए पनि खासै रुचि नदेखाउने गरेको बताउनुभयो । “विदेशीहरु नाउर र झारलको सिकारका लागि महँगो शुल्क तिरेर आएका हुन्छन्, उनीहरु त्यसमै रमाउँछन्”, उहाँले भन्नुभयो, “नेपालीलाई बँदेल सिकारमा आकर्षित गर्ने हो भने शुल्क घटाउनुपर्छ र प्रक्रिया पनि सहज बनाउनुपर्छ ।”

सुरुमा केही नेपाली सिकारीले सिकार खेल्न चाहेको भए पनि पछि सम्पर्कमा नआएको उहाँले उल्लेख गर्नुभयो । सिकार कम्पनीहरुले विभागसमक्ष बँदेलका लागि तोकिएको शुल्क कम गर्नुपर्ने माग गर्दै आएका छन् । नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येयले विभागले बँदेलको सिकार खुला गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

बँदेलको व्यवस्थित सिकार हुन सके स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्धमा पनि सहजता थपिने विश्वास लिइएको उहाँको भनाइ छ । “बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउने ठानिएको छ”, उहाँले भन्नुभयो, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।”

नाउर र झारल सिकारबाट विभागले बर्सेनि कराडौँ रुपैयाँ राजस्व उठाउँदै आएको छ । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि नपुगेको स्थितिमा विभागले गत वर्ष पहिलोपटक नेपालीलाई लक्ष्य गरि बँदेलको सिकार खुला गरेको थियो । विदेशी पेसेवर सिकारीले मात्र आरक्षमा सिकार खेल्दै आएका छन् । बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले बर्सेनि दुई याममा सिकार खेलाउने गर्छन् ।

नाउर र झारल सिकारका लागि विदेशी सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्ने गर्छन् । चालु आवको पहिलो सिकार याम (असोज–मङ्सिर)मा एउटा नाउरको न्यूनतम रु पाँच लाखदेखि बढीमा रु १३ लाखसम्म राजस्व बुझाएको आरक्ष कार्यालयले जनाएको छ । झारल सिकारमा भने बढीमा रु पाँच लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएका थिए ।

यो याममा विभागले नौ नाउर र सात झारलको सिकार अनुमति दिएको छ । हतियार र बन्दोबस्तीसहित सिकारमा जाने तयारीमा कम्पनी छन् । ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि थापाले आफूहरु कात्तिक पहिलो हप्ता आरक्ष क्षेत्रमा पुग्ने बताउनुभयो । उहाँको कम्पनीमार्फत जमर्न र बेलारुसका सिकारी ढोरपाटन पुग्दैछन् ।

उनीहरुले तोकिएको सिकार ब्लकमा दुई नाउर र दुई झारलको सिकार खेल्ने कम्पनीले जनाएको छ । सिकारीसहित कम्पनीका प्रतिनिधि, आरक्षका कर्मचारी, पथप्रर्दशक, भरिया लगायतका टोली सिकार ब्लकमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् । आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र््याक एन्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

विदेशीहरु ‘हन्टिङ ट्रफी’का लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको ट्र््याक एन्ड ट्रेल्र्सका प्रतिनिधि थापाले बताउनुभयो । आरक्षमा रतुवा मृग, चरालगायत अरू वन्यजन्तु र पक्षीको समेत सिकार गर्न पाइने भए पनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । उनीहरु हेलिकप्टर चार्टर गरेर सिकार आरक्ष पुग्छन् । आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।