क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय खेलमै मंगोलियाले खाएको चुटाइ

चीनको हाङझाउमा भइरहेको एसियाली खेलकुदअन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा बुधबार विभिन्न विश्व रेकर्ड बनायो।
मंगोलियाविरूद्धको आजको खेल नेपालका लागि प्रतियोगिताको पहिलो खेल थियो तर मंगोलियाले भने आज नै पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो।

मंगोलियामा क्रिकेट खेल्न थालिएको धेरै भएको छैन।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीका अनुसार मंगोलियामा आधुनिक क्रिकेटको सुरूवात एक दशकअघि मात्र भएको हो।
सोभियतकालीन समयमा मंगोलियाका बच्चाहरूले गल्लीमा गाइदेक मट्का खेल खेल्थे। त्यो खेल क्रिकेटसँग केही मिल्दोजुल्दो थियो।
बत्तुल्गा गोम्बो भन्ने व्यक्तिले मंगोलियामा क्रिकेट भित्र्याएको मानिन्छ। अष्ट्रेलियाको मेलबर्नमा केही समय बसेका उनी त्यहीँ हुँदा क्रिकेटसँग लोभिएका थिए।

मंगोलियामा फर्किएपछि उनले बच्चाहरूलाई क्रिकेट खेलाउन र क्रिकेट मैदान बनाउन विभिन्न अभियान चलाएका थिए। उनी कारमा क्रिकेटका किट्सहरू बोकेर देशका विभिन्न भागमा पुगेका थिए।
सन् २०१५ मा उनले नगरपालिकाका अधिकारीहरूका लागि क्रिकेट मैदानका लागि जग्गा उपलब्ध गराउन मनाउन सकेका थिए।

राजधानी उलानबटारमा सन् २०१६ मा मंगोलियन फ्रेन्डसिप क्रिकेट ग्राउन्ड बनेको थियो।

पहिलो क्रिकेट मैदान बनेपछि बिस्तारै स्कुलहरूमा क्रिकेट खेलाउन थालिएको थियो।
अहिले मंगोलियामा इनडोर र आउटडोर क्रिकेट खेलिन्छ।
मंगोलियाभित्र टी-२० र एकदिवसीय फर्म्याटमा घरेलु प्रतियोगिताहरू हुन्छन्।

मंगोलियालाई आइसिसीले सन् २०२१ मा एसोसिएट सदस्यता दिएको थियो।
आन्तरिक क्रिकेटमा प्रतिस्पर्धा गरिरहेका मंगोलियन क्रिकेटरले बुधबार पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालको सामना गरेका हुन्।
मंगोलियाविरूद्धको खेलमा नेपाली खेलाडी कीर्तिमानको ओइरो बनाएका छन्।

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो। यसअघि जितको आधारमा ठूलो जित चेकको २५७ रनको थियो।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नुबाहेक अरू ब्याटर दोहोरो अंकमा रन जोड्न नपाई आउट भए।

बलिङमा नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २-२ विकेट लिए। करणले २ ओभरमा १ मेडन राख्दा १ रन र अभिनासले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र दिए। सन्दीपले पनि २ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए। सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

त्यसअघि मंगोलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो।
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो। यसअघि टी-२० को विश्वकीर्तिमानी योगफल २७८ रन थियो। यो स्कोर चेक र अफगानिस्तानले बनाएका थिए।

यस्तै कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को कीर्तिमान बनाए। यसअघिको सर्वाधिक छिटो अर्धशतको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारस खड्काको नाममा ४९ बलमा थियो।

दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए। उनले १२ बलको विश्वकीर्तिमान पनि भंग गरेका हुन्। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए।

खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे। कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८ छक्का हिर्काए।
त्यसअघि कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए।

खेलमा नेपालले २६ छक्का र १४ चौका प्रहार गरेको थियो।
समूहमा अब नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ।
समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्।
टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो। चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाएका छैनन्।

भारतले आइपिएल खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ भने आइपिएलमा चलेका युवा खेलाडीलाई समेटेर एसियाली खेलकुदमा टिम पठाउँदैछ।

एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ।
अन्तिम आठमा जित हात पारेको अवस्थामा नेपालको क्रिकेटबाट एसियाली खेलकुदमा पहिलोपटक पदक जित्ने सम्भावना हुनेछ।

सेमिफाइनलमा जित हात पारे रजत पदक पक्का हुनेछ भने हार बेहोरेमा कास्यका लागि खेल्ने अवसर प्राप्त हुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।