सुन प्रकरण : महरासंग सीआईबीको काम चलाउ बयान, कागज मात्रै गराएर छाड्यो

काठमाडौँ – इलेक्ट्रिक सिग्रेट (भेप) को ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कागज गरेर छाडिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनका छोरा राहुललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर सुन छुटाउन फोन गरेर दबाब दिएका बाबु कृष्णबहादुर महरालाई भने प्रतिवादी नबनाउने भएको हो। प्रतिवादी नबनाउनकै लागि सीआईबीले उनको कागज मात्रै गराएर छाडेको हो।

यसअघि कृष्णबहादुर महराका बाबु छोराकै संलग्नता देखिएको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले उनीहरुसँग कागज समेत गरेको थिएन।

सीआईबीको अनुसन्धान प्रतिवेदनमै महराबाबु छोराको चिनियाँ तस्करसँग सिधा टेलिफोन सम्पर्क देखिएको र भन्सारमा सुनसहितको भेप रोकिएपछि छुटाउन समेत दबाब दिएको प्रतिवादीको बयान समेत संलग्न गरेको थियो।

सीआईबीको अनुसन्धान प्रतिवेदनमा उनीहरुको संलग्नता रहेको भन्ने उल्लेख भएसँगै महराबाबु छोरालाई पक्राउ गरेर अनुसन्धान गर्न सीआईबीलाई दबाब परेको थियो। तर छोरा राहुललाई भदौ १३ गते पक्राउ गरे पनि बाबुमाथि भने कुनै अनुसन्धान नगरी कागज मात्रै गराइएको हो।

यस्तो थियो घटना
चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११।५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो।

तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए।

भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएको खुलेको छ। जसमा महराका बाबुछोरा समेत जोडिएका हुन्।

चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको छ। महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ। जुन कुरा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा खुलाएको छ।

सुन ल्याउने समूह, भन्सारबाट सुन चोर्ने समूह र सुन बेच्ने समूहका छुट्टाछुट्टै तीनवटा चार्ट अदालतमा पुगेको छ। महराका बाबुछोराको कनेक्सन सुन ल्याउने र सुन बेच्ने समूहसँग देखिएको छ।

सुन ल्याउने समूहको कनेक्सनमा ८ जना देखिएका छन्। जसमा महराका बाबुछोरासँगै दुई चिनियाँ, लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपानेको कनेक्सन रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

न्यौपानेमार्फत भन्सारबाट सुन चोरेर बेच्ने समूहसम्म कनेक्सन पुगेको छ। दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दिपेश बस्नेत, गोपाल सुवेदी, विश्वराम खड्काको कनेक्सन देखिएको छ।

कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका छन्। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बताएका छन्।

भन्सार अधिकृत श्रेष्ठलाई भेट्न सुरुमा श्यामसुन्दर साह पुगेका थिए। इलेक्ट्रिक सिगरेट जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको भन्दै राजस्व दाखिला गरी जाँचपास गरिदिनु पर्यो भनी अनुरोध गरेका थिए।

तर अधिकृत श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको बताएका छन्। उनी फर्किएको केही समयपछि कृष्णबहादुर महराले आफूलाई टेलिफोन गरी भन्सार जाँचपास गरिदिन भनेको श्रेष्ठको बयान छ। यही विषयमा कृष्णबहादुरका छोरा राहुलले पनि फोन गरेर जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलाम प्रक्रियाबारे सोधेको श्रेष्ठले बयान दिएका छन्।

उनले बयानमा भनेका छन्, ‘निज ९श्यामसुन्दर साह० यात्रु शाखाबाट निस्की गएकोमा केही समय पश्चात ९८५१०।।।।नम्बरबाट मेरो मोवाइलमा समेत फोन गरी सोही कुरा दोर्होयाएकोमा मैले निजलाई जफत भएको मालवस्तु जाँच पास नहुने भनेको थिएँ।’

यसरी फोन गर्ने कृष्णबहादुर महरा थिए। महरासँग कुरा भइसकेपछि पनि काम नभएपछि उनका छोरा राहुलले आफूलाई फोन गरेको भन्सार अधिकृतले बयान दिएका छन्।

‘सोही विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११….मेरो मोबाइलमा फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया के हो? कसरी हुन्छ भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ,’ श्रेष्ठले बयानमा भनेका छन्।

सोही बयान समेतका आधारमा महरा बाबुछोराको कनेक्सन देखिएपछि सीआईबी उक्त मुद्दामा पुन अनुसन्धान गर्न बाध्य भएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।