पर्यटन क्षेत्रमा धनकुटाले यसरी छलाङ मार्न सक्छ…
जीवनप्रसाद राई । पर्यटन र कृषिलाई एक अर्काको परिपुरक बनाउन सके यसबाट हामीले बडेमाको फाईदा लिन सक्ने संभावना देखिन्छ । कृषिको सबैभन्दा नजिकको र पहिलो बजार नै पर्यटन हो । यसैले यसबारे बृहतम छलफल गर्न आवश्यक देखिन्छ । कोशी प्रदेशको केन्द्रबिन्दुमा रहेको धनकुटा जिल्लाले पर्यटन क्षेत्रमा कसरी उन्नत र नमुनाको कार्य गर्न सक्छ भन्ने सन्दर्भमा यो लेखलाई केन्द्रित बनाउन प्रयास गरिएको छ ।

(जीवनप्रसाद राई )
धनकुटा जिल्ला क्षेत्रफलको हिसाबमा नेपालको ७७ जिल्ला मध्ये छैठौ सानो जिल्लाको रुपमा लिन सकिन्छ । भक्तपुर, काठमाण्डौ, ललितपुर, पर्वत तथा तेह्रथुम पछिको सानो क्षेत्रफल भएको जिल्ला हो धनकुटा । यसको जम्मा क्षेत्रफल ८९२ किलोमिटर रहेको छ । थोरै क्षेत्रफल भएता पनि एउटा देश सिंगापुर भन्दा ठुलो रहेको छ । सिंगापुरको क्षेत्रफल जम्मा ७२८.६ किलोमिटर मात्रै रहेको छ । सिंगापुरको जिडिपी नेपालको भन्दा ९ गुणा ठुलो रहेको छ । नेपालको जम्मा जिडिपी २०२३ को अन्तिम सम्ममा ४२.३८ बिलियन डलर हुने अनुमान गरिएकोमा सिंगापुरको ३९७ बिलियन डलर हुनेछ । मुलुक सानो भएता पनि उत्पादन र सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने हो भने संमृद्ध बनाउन सकिने संभावन रहन्छ भन्ने राम्रो सन्देश हो सिंगापुर ।
यहाँ धनकुटा र सिंगापुर बीच किन तुलना गरिएको हो भने सिंगापुर समुद्रले मात्रै साथ दिएको छ । त्यहाँ प्रसस्त्रै मात्रामा उत्पादन गर्ने ठाँउहरु छैनन । भएको जमिनमा प्राय शहरबजारको र उधोगहरुको बिकास गरिएको छ । प्राकृतिक स्रोत साधानको पनि अभाव रहेको देखिन्छ ।
सिंगापुरले केवल पर्यटन क्षेत्रको बिकास र अन्यत्र देशबाट कच्चाबस्तुहरु ल्याई प्रशोधन उधोग संचालन गरि संसारभर उसले दिने गरेको सेवा र ब्यापारले नै सिंगापुर धनी बनेको हो । यसैले सिंगापुरको भन्दा हाम्रो धनकुटामा पनि यसप्रकारका सेवा उधोग तथा प्रशोधन उधोगहरु संचालन गर्नका लागि कुनै नीति नियम बाधाक छैन । हामी संग केवल सोच, ईच्छाशक्ति, इमानदारिता र जाँगरको अभाव देखिन्छ । अझ सिंगापुरको भन्दा हामीलाई प्राकृतिक बिबिधताको संसार छ । अरुण र तमोर नदीले साथ दिएको मात्रै नभएर समुद्र सतह देखि २ सय मिटर माथि २६ सय मिटर सम्मको हावापानी हामी संग उपलब्धता रहेको छ । यसपछि केही थान सानातिना खोलाहरु समेत हाम्रा लागि प्राकृतिक बरदान हुन ।
अनेकौ प्रकारका फलफुल, पुतली, वनस्पति, रुख, तरकारी, हावापानी, प्रत्येक आधाघण्टामा हिड्दा हिड्दै अत्यन्तै तातो र चिसो हुने खालको हावापानी यो नै हामीले बिव्रिm गर्न सक्ने बस्तुहरु हुन । पर्यटन क्षेत्रको बिकास गर्ने र बजारीकरण गर्ने हाम्रा संभावित क्षेत्रहरु प्रकृतिले दिएको यिनै हुन । यसका अलावा बडेमानको लगानी गरेर मानव निर्मित क्षेत्रहरु जुन क्रमिक रुपमा गरिनुपर्ने हुन्छ । त्यो भने समयान्तर गरिदै जानुपर्ने हुन्छ । आजको दिनमा हामी संग जे जस्तो अवस्थामा जस्तो बस्तुहरु रहेका छन तिनै बस्तुहरुको बजारीकरण गरेर उत्साहजनक रुपमा धनकुटाको पर्यटन बिकास गरिनु अवाश्यकता छ ।
हामीले नदेखेको नजिकैको बिशाल अवसर :
४ गाँउपालिका र ३ नगरपालिका रहेको धनकुटा जिल्ला यस्ता ठुला तीनवटा बिशालतम नागरिकहरु बसोबास गरिरहेको प्रदेश र देशहरुको बीचमा रहेको देखिन्छ । पछिल्लो समय राजनीतिक स्थिरताले गर्दा बंगलादेशले उच्च गतिमा आर्थिक बृद्धि गरिरहेको छ । उसको जनसंख्या २०२३ मा १७ करोड ५१ लाख ६ हजार २४२ रहेको छ । यसैगरि कोशी प्रदेश संग सिमाना जोडिएको भारतका प्रान्तहरु पश्चिम बंगालको १० करोड, २५ लाख, ५२ हजार, ७८७ रहेको छ । यसैगरि बिहार प्रदेशको १३ करोड, ७ लाख २५ हजार ३१० रहेको छ । संयोग कस्तो रहेको छ भने यी तीनवटै देश र प्रदेशहरु राजनीतिक स्थिरताका कारणले तिव्रगतिमा बिकास र आर्थिक बृद्धि भईरहेको क्षेत्रहरु हुन ।
सबैभन्दा उत्साह लाग्ने बिषय त यो छ कि धनकुटा जिल्लाबाट काठमाण्डौ जानुभन्दा यी क्षेत्रहरुमा पुग्न धेरै नजिक पर्दछ । बंगलादेश जम्मा २१० किमि टाढा पर्दछ भने पश्चिम बंगाल पुग्न १७२ किमि मात्रै टाढा छ । यसैगरि बिहार प्रदेश झनै नजिक रहेको छ त्यहाँ पुग्न जम्मा ९५ किमिको यात्रा गरेपछि सिमाना पार गर्न सकिन्छ । यति नजिकैको क्षेत्रमा जम्मा जनसंख्या ४० करोड ८४ लाख ३८ हजार ३३९ जना बसोबास गर्ने गर्दछन । उत्तरतिरको तिब्बतलाई हेर्ने हो भने त्यहाँ ७० लाख मानिसहरु बसोबास गरिरहेको देखिन्छ । यो अवसर हाम्रो लागि महान र उत्कृट अवसर हो ।
हामीले थोरै पहल र प्रयास मात्रै गर्न सक्यौ भने पनि यी क्षेत्रका मानिसहरुलाई धनकुटा ल्याउने बातावरण गर्न सकिन्छ । ४१ करोड भन्दा बढी जनसंख्या रहेको यी क्षेत्रहरुको साधारण पर्यटकहरु मात्रै भित्राउने बातावरणका लागि जम्मा १ प्रतिशतको योजना बनाउनु पर्दछ ।
यसमा ०.५ प्रतिशत मात्रै सफलता पाउने हो भने पनि त्यो संख्या भनेको २० लाख पर्यटक हो । सिंगो नेपाल सरकारले जम्मा २० लाख बार्षिक पर्यटक भित्राउने लक्ष्य राखिरहेको बेलामा धनकुटा जिल्लाले मात्रै २० लाख पर्यटक भित्राउने लक्ष्य राख्नु पक्कै पनि हाँस्यस्पद हुन सक्ला तर यसलाई यथार्थमा परिणत गर्न असम्भव भने छैन ।
पर्यटक र पर्यटनको अंकगणितीय हिसाब :
भनिन्छ एक पर्यटकको आगमन हुदाँ ९ जनाले रोजगारी पाउँदछन । त्यो भनेको कुक, वेटर, डिसवासर, रुमबोई, पोर्टर, गाईड, क्लिनर, सप्लायर्स, ड्राईभर आदि हुन । यी प्रत्यक्ष रोजगारी हुन भने यसपछि अप्रत्यक्ष रुपमा अनेकौ रोजगारीहरु सिर्जना हुने गर्दछन । जस्तै भाषाको, कृषिको, पसलको, कोशेलीको, ट्राभल आदिको । प्रति पर्यटक सरदर १० हजार नेपाली रुपियाँको मात्रा खर्च गर्दा पनि २० लाख पर्यटकले गर्ने खर्च जस्लाई हामीले आम्दानी भन्नुपर्छ त्यसको रकम रु. २० अर्ब नेपाली रुपियाँ धनकुटामा चलयमान हुने देखिन्छ । जसबाट नेपालको रैथाने कृषि बस्तुहरुको बजार बिकास, नेपाली कृषिको आधुनिकीकरण लगायतको क्षेत्रमा प्रसस्त्र मात्रामा बिकास हुने देखिन्छ । यसका साथै धार्मिक स्थलहरुको आधुनीकिकरण, बाटोहरुको स्तर उन्नती, प्रशोधन उधोग, डेरी उधोग, चिया तथा कफी उधोग, मासुजन्य प्रशोधन उधोग आदिको प्रसस्त्रै मात्रामा बिकास हुनेछ ।
२० लाख पर्यटक बार्षिक रुपमा हुनु भनेको प्रतिदिन ५५०० जना हो । यसका लागि धनकुटाका लागि मात्रै प्रत्यक्ष रुपमा ५५० वटा सुमोले काम पाउनेछन भने ६९० वटा होटलले दैनिक रुपमा पाहुना राख्न पाउनेछन । यसका साथै ५०० भन्दा बढी खाद्यन्न र खाने बस्तुहरु सप्लायर्सले काम पाउनेछन । खाजा र खाना पसलहरु १ हजारको संख्यामा भरिभराउ भएर चल्नेछन । किराना र अन्य सामाग्रीहरु खरिद गर्ने पसलहरु समेत यही हिसाबमा संचालन हुनेछन र समग्रमा यस जिल्लामा काम, दाम र माम पाईने भएपछि बिधार्थीको संख्यामा समेत उल्लेख्य मात्रामा बृद्धि हुनेछ । हाल यहाँ अवसर नपाईने भएको कारणले नै निरन्तर रुपमा बिधार्थीको संख्या घट्दै गईरहेको हो । पढ्दै कमाउने र पढ्ने खर्चको जोहो गर्ने अवसर हुने बित्तिकै बिधार्थीहरु आकर्षित हुनु स्वभाविक हो । जसका कारणले सयौ ठाँउमा सामुदायिक होमस्टेहरु संचालन गर्नका लागि वातावरण पनि तयारी हुन्छ । धनकुटाले त्यो हैसियत बनाउन सक्छ ।
यो अवसर कसरी निर्माण गर्न सकिन्छ :
धनकुटा जिल्लामा ७ वटा पालिका, एउटा जिसस, अनेकौ संघ संगठनहरु रहेका छन । सबभन्दा पहिला त यो अवसर सिर्जना हुनसक्छ भन्ने विश्वास जनजनमा पुराउनु पर्दछ । यो हुन सक्दैन, कहाँ हुन्छ र यस्तो हुन पचासौ बर्ष लाग्छ, संभव छैन हुदैन भन्ने हामीले मनोबिज्ञन तयार पारियो भने यो कार्य हुदैन । तर हुन्छ र संभव छ भन्ने मनोबिज्ञानबाट हामी अघि बढ्न खोज्यौ भने पक्कै पुरा गर्न सकिनेछ । यो संभव बनाउनका लागि सबैभन्दा पहिलो छलफल र बिषय प्रस्तुती गर्न आवश्यक देखिन्छ । त्यो छलफलका लागि सातवटै पालिकाले उत्तिकै मात्रामा सहभागी जनाउने हो भने छिटो यो काम अघि बढ्न सक्दछ ।
केही लगानीकर्ता जन्माउने वा भित्राउने रणनीति हामीले तयारी गर्नुपर्ने हुन्छ । जस्तै पर्यटक प्रबर्धनका लागि सबैभन्दा आवश्यक पर्ने ट्राभल एजेन्ट हरुलाई हामीले धनकुटामा कार्यालय खोलेर काम गर्नका लागि आमन्त्रण गर्न सक्दछौ । उनीहरुलाई यहाँको संभावना देखाएर त्यो कार्य गर्न सकिन्छ । यसैगरि हामी संग भएका संरचनाहरु तथा पर्यटकीय स्थलहरु जस्तै छिन्ताङदेवी, ओक्मालुङमा रहेको साततले लुङधाङ गुफा, मधुगंगा, नमस्ते झरना, बुधबारेबाट देखिने सुर्योदय, पाख्रीबास कृषि अनुसन्धान केन्द्र, पारिपात्ले सुन्तलाजात अनुसन्धान केन्द्र, तमोर नदी र अरुण नदीमा हुनसक्ने पानी पर्यटन, लालीगुराँस र अन्य बोटानिकल गार्डेन सम्बन्धी कार्यहरुलाई तत्कालका लागि गन्तब्यका रुपमा राख्न सकिन्छ ।
मुख्यतः पर्यटकहरुको आगमनमा बृद्धि भएपछि अति आवश्यक पर्ने खाना र बस्न हो । यसको तिव्र बिकास नै अबको धनकुटेली जनताका लागि बिकास हुनेछ । यसका लागि होटल वा होमस्टेमा लगानी गर्ने बातावरण तयारी पारिनुपर्दछ । यसपछि दुईवटा छनौट हुनैपर्दछ पहिलो छनौटमा पर्यटक जुन देशबाट आएको छ उसको परम्परागत खानेकुराको छनौट र हाम्रो टिपिकल खानेकुरा वा रैथाने खानेकुराको छनौट गर्न दिनुपर्ने हुन्छ । यसमा हामीले दख्खलता हासिल गर्नुपर्ने हुन्छ ।
यसपछि मानव निर्मित बिशालतम ठुला परियोजनाहरु व्रmमिक रुपमा पब्लिक शेयरमा लगानी गर्ने बातावरण तयारी पारिदै जानुपर्ने हुन्छ । जस्तै गेन्टिङ हाईल्याण्ड मलेसिया, पुत्रजय मलेसिला, ओसनपार्क हङकङ, सन्तोषा आईल्याण्ड सिंगापुर, चारधाम सिक्किम, भरतताल सर्लाही नेपाल, गान्धीमार्ग सिक्किम, जस्ता ठाँउहरुको निर्माणका लागि समग्रमा धनकुटामा बसोबास गरिरहेका नागरिकको पहलमा देशभरबाट वा संसारभर छरिएर रहेका नेपालीहरुबाट समेत शेयरमा सामेल गराउन सकिन्छ ।
यसका लागि सबैभन्दा राम्रो नीति भने धनकुटाका स्थानीय तहहरुले बनाउन जरुरी छ र त्यसमा जिल्ला समन्वय समितिले समन्वय गरिदिन आवश्यक छ । अन्य बिबिध संघ, संगठन, ब्यक्ति, होटल सेवा, होमस्टे सेवा, खजाघर, रेष्टुराँ ब्यापारिक संस्था, पत्रकार, साहित्यकार आदिले आ आफनो ठाँउबाट बिचारको बिकास गर्न जरुरी छ । धनकुटामा प्रतिबर्ष २० लाख पर्यटक र २० अर्ब रुपियाँ भित्राउन संभव छ । जय धनकुटा ।


