राष्ट्रियसभा : विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवकोे चर्चा

काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणको उपलब्धिबारे चर्चा गर्नुभएको छ ।

बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले सङ्घीयतालाई बलियो बनाउन थाती रहेको कानून चाँडो निर्माण गर्न तथा राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले विपीन जोशी हामासको नियन्त्रणमा रहेको पुष्टि भएको भन्दै जोशीको रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमण उपलब्धिमूलक भएको र शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयमा उठाएको विषय अन्तर्राष्ट्रियस्तरमा नेपालले चर्चा पाएको बताउनुभयो ।

नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले इजरायलमा हमासद्वारा मारिएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बन्धक बनाइएको भनिएका विपीन जोशीको खोजी र उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गुगुको छायाँनाथ गाउँपालिकामा हालै अज्ञात व्यक्तिबाट भएको सामूहिक हत्याका घटनाको दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद दाहालले राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले इजरायलमा हमासको नजरबन्दमा रहेका भनिएका विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउन बाँकी रहेका कानुन चाँडो बन्नुपर्नेमा जोड दिनुभयो । सभालाई प्रभावकारी बनाउन नसकिएको र महत्वपूर्ण विधेयक आउन नसकेको उहाँको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले सभाबाट महत्वपूर्ण विधेयक पारित भएको भन्दै आगामी दिनमा पनि सभाको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकभित्र अहिले पनि विभिन्न किसिमका समस्या व्याप्त रहेको, भ्रष्टाचार, महँगी र कालोबजारी बढिरहेको भन्दै यसको नियन्त्रण र प्रभावकारी अनुगमन गर्न ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मृगेन्द्र कुमारसिंह यादवले इजरायलमा हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई कूटनीतिक पहलको प्रयास गरी सकुशल नेपाल ल्याउने पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नजिकिएको तिहारमा चिनीलगायतका खाद्यपदार्थको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउने महत्वपूर्ण विधेयकहरु ल्याउन माग पनि गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले विपीन जोशीको उद्धारका लागि पहल गर्न सरकारसमक्ष माग गर्नुभयो ।

उहाँले विगतमा गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल नामकरण भएको अहिले सप्तरी जिल्ला अस्पतालका रुपमा सञ्चालन रहेको भन्दै त्यसलाई पुरानै नाममा अञ्चलस्तरीय अस्पताल कायम गर्न माग गर्नुभयो । त्यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावकारीरुपमा सञ्चालन गर्न, चन्द्रनहरको पुनःनिर्माणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।