वियोगी पत्रकारिता केन्द्रले थपेको पर्यटन आकर्षण

श्याम रिमाल/ सूर्यचौर, २० कात्तिक : गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रले पत्रकारहरूका लागि आवासीय तालिमसमेतका लागि आफ्नो संरचना बनाएको छ । नुवाकोट, शिवपुरी–७, सुइरे चौरस्थित तीनतले केन्द्र भवनमा सम्पादक समाज नेपालले चार–पाँच वटा कार्यक्रम गरेर सम्मान–पुरस्कार समारोह गरे पनि तालिमका कार्यक्रम नभएकाले निकट भविष्यमै त्यस्तो व्यवस्था मिलाइने छ ।

‘मातृभूमि’का साप्ताहिक गोविन्द वियोगीका अध्यक्षतामा विसं २०५१ मा स्थापित समाजले बर्सेनि ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ र ‘सम्पादक समाज सम्मान’ दिँदै आएको छ । “सञ्चार क्षेत्रमा आएका कतिपय नयाँ अनुहारलाई ज्ञानको कमी र प्रशिक्षणको अभाव हुन सक्छ ।…त्यस्तै अभाव पूरा गर्ने उद्देश्यले सम्पादक समाज नेपालले आफ्नै भवनमा पत्रकारिता अध्ययन एवं प्रशिक्षणका लागि व्यवस्था गरेको छ ”, विसं २०५१ मा समाजद्वारा प्रकाशित ‘सञ्चारदूत’ ले ‘पत्रकारितामा प्रशिक्षणको अभाव’ शीर्षकमा सम्पादकीय लेखी विभिन्न प्राकृतिक घटना, दुर्घटना, अन्तर्वार्ता आदिमा सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका आदिबारे पत्रकारलाई सिकाउनुपर्ने कुरा उल्लेख गर्दै भनेको छ ।

वागीश्वरी पुस्तकालय, २००८ को प्रकाशन ‘वागीश्वरी’ हस्तलिखित मासिक पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएका गोविन्द वैद्य ‘वियोगी’ ले ‘गोरेटो’, ‘लोकदूत’ र ‘मातृभूमि’ साप्ताहिक र ‘जनदूत’ दैनिक पत्रिका प्रकाशन, सम्पादन गर्नुभए पनि उहाँ ‘मातृभूमि’ का सम्पादक नै भनी चिनिनुभयो र पछि समाज स्थापना गरी त्यसैमा क्रियाशील हुनुभयो । छयालिस सालको आन्दोलनअघि र पछि गरी दुई कार्यकाल नेपाल पत्रकार महासङ्घका सभापति हुनुभएका वियोगी नेपालको न्युज एजेन्सी राष्ट्रिय समाचार समितिका पनि संस्थापक हुनुभयो । उहाँ नेपाल प्रेस काउन्सिलका सदस्य हुनाका साथै नेपाल प्रेस इन्स्टिच्युटका संस्थापकमध्ये एक हुनुहुन्थ्यो ।

वियोगीका ज्येष्ठ सुपुत्र किरण वैद्य साढे तिन रोपनी जग्गा स्थानीयवासीसँग खरिद गरी केन्द्रको भवन निर्माण र वार्षिक कार्यक्रमसमेत सम्पन्न गर्न निकै मेहनत परेको र यसमा स्थानीय जनताको पनि सहयोग प्राप्त भएको बताउनुहुन्छ । “राजधानीमा जग्गा महँगो हुने र भवनको महत्त्व राजधानी बाहिर नै रहेको ठानी जहरसिंह पौवादेखि साँगासम्म खोज्ने क्रममा काठमाडौँ नजिक नुवाकोटको रमणीय ठाउँमा आइपुग्यौँ । पूर्वप्रधानमन्त्रीहरूसमेतको प्रमुख आतिथ्यमा यहीँ चार–पाँच वटा कार्यक्रम पनि गर्न सक्यौँ”, स्थानीय जनबोलीमा ‘सुइरे चौर’ पनि भनिने ‘गोविन्द वियोगी मार्ग’ परिसरमा उभिई गोविन्द वियोगी स्मृति ट्रस्टका संरक्षक वैद्यले भन्नुभयो । ट्रस्टले तीन भागमा ‘मातृभूमि साप्ताहिक सम्पादकीय सङ्ग्रह’ पनि प्रकाशन गरिसकेको छ ।

समाजका महासचिव श्याम डोटेलका अनुसार केन्द्रसँग अहिले २५ जनासम्मलाई एकै चोटि पत्रकारिताको आवासीय तालिम दिन सक्ने क्षमता छ । “निकट भविष्यमा त्यो कार्यक्रम पनि सुरु गर्ने छौँ ”, उहाँले भन्नुभयो । परिसरमा पूर्वतिर फर्किरहेको वियोगीको अर्धकदको मूर्ति पनि केन्द्रको आकर्षण हो । केन्द्रमा करिब ४० जना अटाउने बैठक कक्ष र अन्य कक्ष र सुविधा पनि छन् जहाँ वियोगी, मातृभूमि, समाजसँग सम्बन्धित तथा अन्य पुस्तक, पत्रिकासहितको पुस्तकालय पनि बन्दै रहेको डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार भवन परिसरमा वृक्षरोपण र पार्किङको योजना पनि छ ।

काठमाडौँ गोङ्गबुबाट उत्तरतिर पर्ने करिब १२ किमीको दूरीमा रहेको सूर्यचौरबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका हरियाली, गणेश–लाङटाङ, दोर्जेलाक्पा आदि हिमालका हिमशृङ्खला, नेपालको राम्रो धान फल्ने भनेर चिनिने नुवाकोटको थानसिंह फाँट, लिखु नदी र उपत्यका, राम्रोसँग अवलोकन गर्न सकिन्छ । युवाहरूको हाइकिङको रोजाइमा पनि यो पर्न थालेको छ । काठमाडौँ–नुवाकोट मार्गको गुर्जे भन्ज्याङ¬बाट करिब दुई किमी टाढा पूर्व पर्ने एक हजार ९८० मिटर उचाइको ‘सुइरे चौर’लाई पर्यटकीय केन्द्र बनाउन सकिने स्थानीय ‘लालीगुराँस लोकल खाजाघर’ का सञ्चालक बद्रीबहादुर गुरुङले बताउनुभयो । “यहाँ कोरोना महामारीअघि शनिबार र अन्य बिदाका दिन दैनिक ५० जनासम्म रात बस्ने गरी आउँथे, अहिले त सङ्ख्या निकै घट्यो । अब फेरि आन्तरिक पर्यटक आउन थालेका छन्, हामी उत्साहित छौँ”, नेपाली सेनाका पूर्वहवल्दार गुरुङले भन्नुभयो । सोही खाजाघरका सञ्चालककी पत्नीले भने बँदेल जस्ता जङ्गली जनावरले मकै, कोदो आदि खाद्यान्न खाइदिएको तर सरकारबाट क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो ।

छिमेकी तत्कालीन पञ्चकन्या गाविसका अध्यक्ष राम थापा नेपाली पत्रकारिताका हस्ती वियोगीका नाममा स्थापित पत्रकारिता केन्द्रले सूर्यचौर र समग्र नुवाकोटको पर्यटन विकासमा अर्काे आकर्षण थपेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सो क्षेत्र काठमाडौँ उपत्यकाको वायु नियन्त्रक अथवा फोक्सो नै हो । यहाँ अरू तीन भन्ज्याङभन्दा अपार पानीको स्रोत छ । यो चराचुरुङ्गी, जीवजन्तु र वनस्पतिको बासस्थान, ट्रेकिङ, हाइकिङ, रक क्लाइम्बिङ, क्यानोनिङ, वायु र जल पर्यटन तथा रैथाने विविध संस्कृति र कृषि उत्पादनका लागि उपयुक्त स्थल रहेकाले केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारले त्यसको उपयोगमा ध्यान दिनुपर्छ ।” यहीँको गुर्जे भन्ज्याङ उपत्यकाका चार भन्ज्याङमध्ये एक हो जुन उत्तरपट्टिको मूल ढोका पनि हो । निकुञ्ज स्थापनापूर्व यहाँ शिवपुरी जलाधार विकास परियोजना स्थापना गरिएको थियो । यसै क्षेत्रमा पश्चिमका एक व्यवसायीले विसं २०३८ मा स्थापना गरेको हरियालीपूर्ण ‘शिवपुरी भिलेज’ले विदेशी पर्यटकलाई पनि सेवा प्रदान गरिरहेको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।