अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक
काठमाण्डाै – कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७ औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्य पदक दिलाएका नेपाल एस्ट्राेनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको छ । नेपालले यसअघि सन् २०१९ मा पनि ओलम्पियाडमा कास्य पदक जितेको थियो । सन् २०१४ देखि शुरु राष्ट्रिय एस्ट्राेनोमी ओलिम्पियाडबाट जीत हासिल गरेका विद्यार्थीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिँदै आएका छन् ।
नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ । त्यसअन्तर्गत अहिलेसम्म विद्यार्थीले नेपालका लागि १२ सम्मानार्थ पदक र दुई कास्य पदक हात पारेका छन् । सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा अहिलेसम्म नेपाली विद्यार्थीले तीन सम्मानार्थ पदक प्राप्त गरेका भट्टराईले बताउनुभयाे ।
के हो राष्ट्रिय एस्ट्राेनोमी ओलिम्पियाड ?
राष्ट्रिय एस्ट्राेनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिँदै आएको सोसाइटीले जनाएको छ ।
सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थीले देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएका छन् ।
राष्ट्रिय एस्ट्राेनोमी ओलिम्पियाडमा कक्षा ८–१२ मा अध्ययनरत १३–२० वर्षका विद्यार्थीलाई समावेश गराइन्छ । प्रतियोगितासम्बन्धी थप जानकारी जान्न चाहनेले सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताउनुभयो ।-रासस


