आस्थाको पर्व छठ

महेन्द्रनगर (धनुषा), १ मङ्सिर : छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो ।

छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको वरिष्ठ साहित्यकार रामभरोस कापडी भ्रमरले बताउनुभयो । उहाँका अनुसार सूर्य पूजा जनमानसको विश्वाससँग जोडिएको पर्व हो । छठप्रतिको आस्थाका कारण मिथिलाञ्चलबाहेकका क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको उहाँको भनाइ थियो ।

जानकार रेवतीरमण लालका अनुसार प्राचीनकालमा भगवान् रामले रावणलाई बध गरेर लङ्कामाथि विजय गरेपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान् राम र माता सीताले उपवास गरी सूर्यदेवको आराधना गरेको मान्यता रहेको छ । दुवैले सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गर्नुभएको जनविश्वास रहेको उहाँले बताउनुभयो । “यसरी छठ पर्वको आरम्भ भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोतका रुपमा मानिने भएकाले पनि हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रुपमा मानिएको छ”, लालले भन्नुभयो ।

“छठ पर्व महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गर्नुभएको थियो । कर्ण भगवान् सूर्यको परम भक्त थिए”, छठका जानकार विशेष लालले भन्नुभयो । कर्णले हरेक बिहान जलमा उभी सूर्यलाई अघ्र्य दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भएको धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । “महाभारतमा सूर्य पूजाको अर्को वर्णन पनि पाइन्छ । पाण्डव पत्नी द्रौपदी आफ्नो परिवारको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन्”, लालले भन्नुभयो, “सोही कार्य पछि छठ पर्वका रुपमा मनाउन थालिएको हो ।”

छठको वैज्ञानिक महत्त्व

छठ पर्वको पौराणिक, सांस्कृतिक महत्त्वमात्र नभई यसको वैज्ञानिक महत्त्व पनि रहेकोे जानकार विजय दत्तले बताउनुभयो । “षष्ठी तिथि एक विशेष खगोलीय अवसरका रुपमा रहेको छ । जुन समयमा पृथ्वीको दक्षिणी गोलाद्र्धमा सूर्य रहन्छ र दक्षिणायनक सूर्यको अल्ट्राभ्वाइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ । यो समयमा सूर्य आफ्नो तलको राशि तुलामा अवस्थित हुन्छ । यसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरुको आँखा, पेट र छाला आदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई पराबैजनी प्रकाशबाट जीवहरुको हानिनोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको गरिन्छ”, उहाँले भन्नुभयो ।

छठको सन्देश

छठ पर्व पूर्ण रुपले स्थानीय स्तरमा उत्पादन हुने सामग्रीमा निर्भर रहेको छ । यसमा स्थानीय उत्पादन, सीप र संस्कारको सम्मिश्रण पाइन्छ । स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरु, ढकना, सरबा, दियो, हाथीलगायत सामग्रीहरुको प्रयोग गर्नु यस पर्वको विशेषता हो ।

“यस पर्वमा उदाउँदो र अस्ताउँदै गरेको सूर्यलाई एउटै आस्था र निष्ठाका साथ पुजिन्छ । हरेक वर्ग, जात, समुदायका मानिस एउटै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन् । यसबाट सृष्टि सबैका लागि समान हो । यहाँ कोही ठूलो सानो, धनी गरिब छैनन् । वातावरणीय हिसाबले पनि छठ सबैका लागि समान हो । सूर्यको प्रकाशले सबैलाई न्यानोपन प्रदान गर्दछ भन्ने सन्देश दिन्छ”, जानकार विजय मणिले भन्नुभयो ।

समुदायलाई जोड्ने काम गर्छ

छठ पर्वले विभिन्न समुदायका व्यक्तिहरुलाई जोड्ने काम गर्ने जानकारहरु बताउँछ । कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व पछिल्लो समय हरेका क्षेत्र र समुदायले उल्लासपूर्वक मनाउन थालेका छन् । अहिले तराईसहित पहाड र हिमाली क्षेत्रमा पनि छठलाई श्रद्धापूर्वक मनाइने गरिन्छ ।

त्यस्तै, अहिल यो पर्वप्रति मुस्लिम समुदायका व्यक्तिहरु पनि आकर्षित भएका छन् । यस पर्वको कारणले विभिन्न समुदाय, जात, धर्मका व्यक्तिहरुबीच सद्भाव बढेको छ ।

समयसँगै आधुनिकता

छठ पर्वमा यसअघि पूर्ण रुपले स्थानीयस्तरबाट उत्पादन हुने सामग्रीको प्रयोग हुँदै आएकामा अहिले यसमा पनि आधुनिकता आएको छ । पहिले पहिले हातबाट बनेका बाँसका सामग्री नाङ्लो, कन्सुप्ती, छिट्टी त्यस्तै माटोबाट बनेको हात्ती, घइँटो, ढकना लगायतको ठाउँमा पित्तलबाट बनेका सामग्रीको प्रयोग हुन थालेको छ ।

पित्तलको सामग्री प्रयोग गर्नुलाई हरेक व्यक्ति आफ्नो आफ्नो तर्क दिन्छन् । जनकपुरधाम उपमहानगरपालिका–९ प्रमेश्वरी देवी साहले करिब २५ वर्षदेखि छठ पर्व मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले बाँस र माटोबाट बनेको सामग्री प्रयोग गरे पनि अहिले सहजताका लागि पित्तलबाट बनेका सामग्री प्रयोग गर्न थालेका छौँ ।”

वडा नं ७ का जानकीराम साहले भन्नुभयो, “अहिले बाँस र माटोबाट बनेका सामग्री भेट्न गाह्रो हुन थालेपछि आधुनिक प्रकारको सामग्री प्रयोग गर्न थालेका छौँ ।” पवित्रा देवीले अहिले छठ पर्वमा माटोका भाँडाका ठाउँमा पित्तलका विभिन्न सामग्रीहरु प्रयोग हुन थालेका बताउनुभयो ।

जनकपुरधामसहित तराई मधेसमा छठ पर्वको रौनकताले छोएको छ । यस पर्वमा गरिब, धनीका साथै समुदायका सबै एकसाथ एक ठाउँमा मिलेर पूजा गरी यो पर्व मनाउने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।