जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

रुकुमपूर्व, ३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताउनुभएको छ । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरुपमा आफ्ना कुरा राखिने बताउनुभयो ।

जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पार्नुभयो ।

आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर जानुभएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारकोतर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पार्नुभयो ।

यस्तै प्रधानमन्त्री दाहालले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै प्रधानमन्त्रीले रुकुमपूर्वको पुथा उत्तरगङ्गा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताउनुभयो । उहाँले मैकोटलाई जीवित सङ्ग्रहालय बनाउनका लागि केन्द्र सरकारकोतर्फबाट बजेटको प्रबन्ध गरिने विश्वास दिलाउनुभयो ।

क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उहाँको कथन छ ।

नेपालको संविधानमा नै समाजवादउन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र सोही सङ्कल्पका आधारमा काम सुरु भएको बताउनुभयो । तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटरब्याजीबाट पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिनुभयो ।

यस्तै, नागरिकताविहीन नेपाली नागरिकलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गर्नुभयो । विदेशमा गएका लाखौँ नेपाली युवाको हकअधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।

सामाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही तथ्यसमेत पेस गर्नुभयो । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताउनुभयो ।

सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बाँकी नराखिने बताउनुभयो । फरक एक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान गठनबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा जनताका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गर्नुभयो ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।