एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने

कमलकुमार बस्नेत/कुरिनटार (चितवन) : गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि रु एक अर्ब लगानी थप गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट निर्माणका लागि रु ५५ करोड लगानी हुनेछ । उहाँका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो । “एनालग प्रविधिको मर्मतसम्भार गर्नुका साथै स्पेयर पार्टस्समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् प्रविधि डिजिटल प्रणालीमा स्तरोन्नति गर्दैछौँ”, उहाँले भन्नुभयो, “अष्ट्रियाको डोप्पलमेयर कम्पनीको डि–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति हुनेछ ।”

उहाँका अनुसार स्तरोन्नतिको पहिलो चरणको काम सन् २०२१ पूरा भइसकेको र बाँकी काम सन् २०२४ को मध्यसम्म सम्पन्न भइसक्नेछ । यसका लागि सामान मगाइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणमा ‘कन्ट्रोल सिस्टम’, ‘कम्युनिकेशन केवल’का साथै केवलकारको लठ्ठा फेरिने छ ।

सञ्चालक श्रेष्ठले सन् २०२५ को सुरुआतसम्म सञ्चालन हुने गरी हाल मनकामना केबलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्टको निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ४० कोठाको सुविधासम्पन्न रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा तथा सेमिनारका लागि हल र रेष्टुराँको समेत सुविधा हुनेछ । “रिसोर्टका लागि रु ५५ करोड लगानी हुने अनुमान छ । रिसोर्ट सञ्चालनका लागि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहनेछ”, उहाँले भन्नुभयो ।

मनकामना दर्शन गर्न आउने भक्तजनहरुलाई राम्रो सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको उहाँको भनाइ । “मनकामना मन्दिर दर्शनका लागि केबलकार प्रयोग गर्ने यात्रुमध्ये तीन प्रतिशत मात्रै भए रिसोर्ट राम्रोसँग चल्ने रहेछ, यात्रुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको हो ”, उहाँले भन्नुभयो ।

सम्पूर्ण प्रणालीलाई डिजिटाइज गर्न लागेको कम्पनीले पछिल्लो समय टिकटलाई पनि अनलाइन प्रविधिमा उपलब्ध गराएको छ । “यात्रुलाई सहज पनि हुने र कागजको खपत कम हुँदा वातावरणीय दृष्टिले पनि राम्रो हुन्छ”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “अनलाइनमार्फत टिकट काट्ने बढ्दै गएका छन् । हाल ३० प्रतिशत टिकट अनलाइनबाट बिक्री भइरहेको छ ।” केबलकार सञ्चालनमा आएपछि मनकामना मन्दिरमा भारतीय पर्यटकको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । “पछिल्लो दुईदेखि तीन वर्षमा सार्क राष्ट्रका विशेष गरी भारतीय पर्यटकको सङ्ख्या बढिरहेको छ, अहिले २५ देखि २८ प्रतिशत हिस्सा भारतीय पर्यटकको छ ।”

एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा

मनकामना दर्शन प्रालिका अनुसार २५ वर्षमा एक करोड ८० लाख ९३ हजार दुई ५५ यात्रुले सेवा लिएका छन् । कम्पनी विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको हो । कुल तीन दशमलव ०२ किलोमिटर लम्बाइको केबलकारमा ३४ वटा यात्रुवाहक र तीनवटा कार्गो ३७ गोन्डुला छन् । केबलकारको एक घण्टामा अधिकतम छ सय ६० जनालाई सेवा दिनसक्ने क्षमता छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै ध्यान दिएको छ । यस क्षेत्र आसपासमा शिक्षा, स्वास्थ्य र विपन्न वर्गलाई सहयोग गर्दै आएको सञ्चालक श्रेष्ठको भनाइ छ । कम्पनीले टिकट आम्दानीको एक प्रतिशत गोरखाको सहिद लखन गाउँपालिका र एक प्रतिशत चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि सहयोग गरिरहेको छ । कम्पनी पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सरकारबाट सम्मानित भएको छ । हाल कम्पनीमा एक सय २० जनाले रोजगारी पाएका छन् ।

कम्पनीका अनुसार सुरुआती वर्षमा दुईदेखि तीन लाख यात्रुले सेवा लिने गरेको भए पनि हाल वार्षिक ११ लाखभन्दा बढीले केबलकारबाट सेवा लिइरहेका छन् । साथै यस वर्ष १२ लाख ५० हजारभन्दा बढी यात्रुले सेवा लिने अपेक्षा गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

यस परियोजनामा तत्कालीन समयमा रु ६५ करोड लगानी भएको थियो । नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बङ्गलादेश बैंकले लगानी गरेका थिए । “सुरुआती दिनमा अपेक्षाअनुरुप यात्रु नआए पनि त्यसपछिका वर्षमा भने यात्रुको सङ्ख्या बढ्यो”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “पाँच वर्षमा ऋण चुक्ता गर्ने भनिए पनि सात वर्षमा मात्रै पूरा भयो ।”
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।