नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

टेकराज पोखरेल/नवलपुर(नवलपरासी), २१ मङ्सिर : गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ ।

मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उहाँले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिनुभयो ।

“दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ”, उहाँले भन्नुभयो, “क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।” सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उहाँले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताउनुभयो ।

एकपटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’को सेवा प्रदान गर्न सकिने भन्दै उहाँले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसिीपबाट उपलब्ध गराइने जानकारी दिनुभयो । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उहाँले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताउनुभयो ।

क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताउनुभयो । उहाँकाअनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ ।

“पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने क्रुजसिपले आफ्नो नियमति क्रुजिङमा निःशुल्क सेवा उपलब्ध गराउनेछ”, बस्यालले भन्नुभयो ।

विसं २०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको क्रुजसिप नेपालकै पहिलो र एकमात्र क्रुजसिप भएको बस्यालको भनाइ छ । उहाँका अनुसार क्रुजसिप सञ्चालन भएकै वर्ष नेपालको पूर्वदेखि पश्चिमसम्मका यात्रुले सेवा लिएका छन् । गएको याममा प्रतिदिन सरदर एक सय ५० जनाले क्रुजसिपमा यात्रा गर्ने गरेको बस्यालले जानकारी दिनुभयो ।

दुई तला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको बस्यालले बताउनुभयो । उहाँका अनुसार क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ ।

क्रुजसिप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । नारायणी नदीमा बग्ने पानीले गरेको धार परिवर्तनका कारण तथा नदीजन्य पदार्थ उत्खनन्का लागि क्रुजसिपले आफ्नो पूरा क्षमतामा यात्रा गराउन नसकेको कार्यकारी निर्देशक ढुङ्गेलले बताउनुभयो ।

भरतपुर महानगरपालिका–१६ को काप्रेघाटमा स्टेशन रहेको क्रुजसिप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवद्र्धन हुँदै आएको होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बताउनुभयो ।

अहिले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष भनेर घोषणा गरिएको अवस्थामा पुनःसञ्चालनमा आएको क्रुजसिपले नवलपुरमा समेत पर्यटकलाई आकर्षण गर्न भूमिका खेल्ने उहाँको भनाइ छ । नारायणी नदीलाई एकै ठाउँबाट बग्ने वातावरण सिर्जना गरेर क्रुजसिपलाई देवघाटदेखि गोलाघाटसम्म नै सञ्चालन गराउने सकेमा नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा कायापलट हुने चुकेको भनाइ छ ।

नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो । “यसअघि क्रुज सञ्चालन हुँदा पनि क्रुजमा यात्रा गर्ने मानिस हाम्रा होटलमा आएर बस्ने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “क्रुजसिप नारायणी नदीमा सञ्चालन हुने कारण यसले चितवनको मात्रै नभएर नवलपुरको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याएको हामीले पाएका छौँ ।” -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।