तमोरको पुल बाह्र वर्षदेखि अधुरै

म्याङलुङ (तेह्रथुम), २ पुुस : तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन ।

पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात÷आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ । तेह्रथुमको म्याङलुङदेखि धरान जान वसन्तपुर, सिधुवा, हिले, धनकुटा हुँदै घुमेर एक सय १६ किलोमिटर पहाडै पहाडको यात्रा गर्नुपर्ने अवस्था छ । पुल बनेपछि सिधै तमोर करिडोरको बाटोबाट त्यसको आधा समयमै धरान पुग्न सकिन्छ ।

पाँचथरको कुम्मायक गाँउपालिकाको नजिकको हटिया तेह्रथुमको म्याङलुङ हो । गाउँमा उत्पादित वस्तु म्याङलुङको शुक्रबारे हटियामा बेच्न लगिन्छ । म्याङलुङबाट साबुन, नुन, तेल, लत्ताकपडालगायत पिठ्युँमा बोकेरै घर फर्किनु पर्छ । कुम्मायकका बिजुवापानी, यासोक, खाल्डे, सिम्ले, स्यावरुम्बा, भुल्केलगायत गाउँबाट दाल, बदाम, मकै, कुखुरा तथा सुगुरका पाठा लुबुघाटदेखि बिजुवापानी, सिकारीथुम्काको उकालो हिँडेर म्याङलुङ पुग्नुपर्ने बाध्यता छ ।

“पुल बने उकालोमा भारी बोक्नुपर्दैन भन्ने सोचेका थियौँ, त्यो अनुभूति हुनै सकेन”, कुम्मायक गाउँपालिका बिजुवापानीदेखि म्याङलुङ शुक्रबारे हटियामा बदाम बेच्न आउनुभएका रमेश थापाले भन्नुभयो ।

विसं २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसित रु १३ करोडमा पुल निर्माणको सम्झौता भएको थियो । पुल २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तीन मिटर चौडाइ तथा एक सय ५७ मिटर लम्बाइको उक्त पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले बताउनुभयो । पाँचवटा पिलर बन्नुपर्नेमा चारवटा मात्र निर्माण गरिएका छन् । विसं २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गर्दैछौँ”, उहाँले भन्नुभयो ।

पुल निर्माण थाल्दा म्याङलुङदेखि पुलसम्म पुग्ने सडक नभएको र सडक खन्न समय लागेको, भूकम्प, कोरोना महामारीलगायत समस्याले पुल निर्माणले गति लिन नसकेको स्वच्छन्द निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले बताउनुभयो । पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै गत म्याङलुङका अर्जन ढुङ्गाना र लालीगुराँस नगरपालिकाका डिकबहादुर कार्कीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

म्याङलुङवासीले तमोरको पुल बनाउनका लागि दबाब दिन समिति निर्माण गरी म्याङलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय तेह्रथुमलाई दबाब दिँदै आएका छन् । पुल निर्माणका लागि दबाब दिन सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।