लिम्बू समुदायको लोकप्रिय धाननाच लोप हँुदै गएपछि धाननाच पुस्तान्तरण गर्न प्रतियोगिता

फुङ्लिङ (ताप्लेजुङ), ६ पुस : लिम्बू समुदायको लोकप्रिय धाननाच लोप हँुदै गएपछि पछिल्लो युवापुस्ता संरक्षणमा जुट्न थालेका छन् । आफ्नो मौलिक संस्कृतिलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नाच प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आगामी चासोक ताङनाम पर्वको अवसरमा ताप्लेजुङमा धाननाच प्रतियोगिता हुने भएको छ । आउँदो पुस १० गते प्रतियोगिता हुने आयोेजक समितिले जनाएको छ । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । विगतमा गाउँमा मेला पर्वहरुमा धाननाच विस्तारै हराउँदै गएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिता गर्न लागिएको चासोक तङनाम सञ्चालक समितिका अध्यक्ष चन्द्र थेपेले बताउनुभयो । उहाँका अनुसार यो नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाई सामूहिकरूपमा नाच्ने गरिन्छ ।

लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । साइनो सम्बन्ध नभएका युवायुवती धाननाचमा सरिक हुने भए पनि वृद्धवृद्धा पनि उत्तिकै सौहार्दताका साथ नाचमा सरिक हुन्छन् ।

प्रतियोगितामा प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु दश हजार र तेस्रोलाई रु पाँच हजार दिइने आयोजक समितिका सचिव दिनेश लिङखिमले बताउनुभयो । लिम्बू जातिको साँझा संस्था याक्थुङचुम्लुङका अध्यक्ष इन्दिरा मेन्याङबोका अनुसार धाननाच साइनो सम्बन्धभन्दा अलग रहेर नाच्ने गरिन्छ ।

नाच्नुभन्दा अघि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । उहाँले भन्नुभयो, “धाननाच अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलबस टेक्न पुगे पनि माफी माग्नुपर्छ । यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।”

धाननाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धाननाच अहिले ‘खला’बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुन पुगेको समितिका सहसचिव अनिता पन्दाकले बताउनुभयो । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा हराउँदै गएकाले धाननाचको प्रवद्र्धन तथा संरक्षण गर्दै पुस्तान्तरण गर्नका लागि प्रतियोगिता गर्नुपरेको उहाँको भनाइ थियो ।

नाच्दा पालाम ९एक प्रकारको छन्दबद्ध गीत० गाउनु अनिवार्य छ । पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरणमा गाइन्छ । पालाममा सृष्टिको उत्पत्ति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । धाननाचको उत्पत्तिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिस कृषि युगमा प्रवेश गरेको कुरा उल्लेख छ ।

मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसले नयाँ जुक्ति निकालेर पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा हा ।’ भन्दै धान कुल्चन थाले । चराहरू पर भागे । यसरी धाननाच हुन गएको यसका जानकार भनाइ थियो ।

पूर्वका लिम्बू बाहुल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायत जिल्लामा लिम्बू समुदायको बसोबास भएको स्थानमा धाननाच गरिन्छ । पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवापुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचिका कारण धाननाच पनि लोप हँुदै गएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिता गर्नुपरेको जनाएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।