मन्त्री शर्माले सुरु गर्नुभयो १४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा

धनकुटा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत दु्रतगतिको इन्टरनेट सेवा सुरु गर्नुभएको छ ।

सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को आज उद्घाटन गर्नुभएको हो । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा उहाँले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो ।

सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ ।”

यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पु¥याएको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने बताउनुभयो ।

मध्यपहाडी राजमार्गअन्तर्गतको यो योजना सञ्चारसम्बन्धी सरकारको योजनाको एक अंश भएको जानकारी दिँदै मन्त्री शर्माले यस आयोजनाले कोशी प्रदेशका बासिन्दालाई दूरसञ्चारको मूलप्रवाहमा जोड्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा विस्तारलाई सरकारले विशेष जोड दिएको बताउँदै मन्त्री शर्माले यसै योजनाअन्तर्गत नेपाल टेलिकमबाट सुरु गरिएको फोरजी सेवा सात सय ३९ स्थानीय तहमा पुर्‍याइएको जानकारी दिनुभयो । देशको कुल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको र यसलाई शतप्रतिशत विस्तार गर्न आवश्यक रहेको उहाँको धारणा छ ।

एनसेल मोबाइल प्रकरणमा सरकारले छानबिन टोली गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “बाहिर हल्ला भएजस्तो एनसेलका विषयमा केही भएको छैन, हाइप्रोफाइल भनेर कारबाहीबाट छुट कसैलाई हुन्न”, उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ग्रामीण दूरसञ्चार कोषको लगानीमा मध्यपहाडी राजमार्गमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कको सञ्चालनमा ल्याइएको बताउनुभयो ।

ग्रामीण दूरसञ्चार कोषअन्तर्गत रु चार अर्ब ८७ करोड लगानीमा कोशी, मधेस र बागमती प्रदेशमा सञ्चालित आयोजनामध्ये कोशी प्रदेशको आयोजना पूरा भएको हो । तीन प्रदेशमध्ये कोशी प्रदेश सेवा प्रवाहमा पहिलो भएकामा प्रदेशवासीलाई मन्त्री शर्माले बधाई ज्ञापन गर्नुभयो ।

तीन प्रदेशमा विस्तार हुने एक हजार दुई सय २५ किमी लामो फाइबरको महामार्गमध्ये कोशी प्रदेशमा आठ सय ६३ किलोमिटर लामो महामार्गबाट सेवा प्रवाह हुने ग्रामीण दूरसञ्चार कोष परियोजनाका निर्देशक लक्ष्मण महर्जनले जानकारी दिनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।