सरकारकै कारण नागरिकले दुःख झेल्नु नपरोस्

जीवनप्रसाद राई । म कृषि पर्यटन अभियन्ता, लेखक तथा कृषि परामर्शदाता बिगत २०५१ साल देखि नै भोजपुर, होम्ताङ्गबाट बसाई सरी धनकुटाको हिलेमा बस्दै आएको छु ।

२०८१ साल जेठ २० गतेका दिन मेरो छोरालाई नागरिकता लिई दिनका लागि मैले जिल्ला प्रशासन कार्यालय धनकुटामा निवेदन पेश गरे । यही मौकामा मेरो आमा, बुवा, श्रीमति र मेरो समेत समेत राष्ट्रिय परिचय पत्र बनाउने भनेर परिवारका ५ जना जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेका थियौ । मेरो २०४८ सालमा आमाको २०५२ सालमा र बुवाको नागरिकता २०४५ सालमा भोजपुर जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हो । अन्यत्र जिल्लाबाट बसाई सरेर आएको ब्यक्तिको नागरिकता वा राष्ट्रिय परिचय पत्र बनाउने क्रममा सोही जिल्ला प्रशासन कार्यालयमा अभिलेख बुझ्ने रहेछ धनकुटा प्रशासनले । भोजपुर जिल्ला प्रशासन कार्यालयले हामी तीनैजनाको अभिलेख २०६० फागुन १९ गतेका दिन जलेर नष्ट भएको भनेर पत्र पठायो । हामी एकै दिनमा काम सकेर फर्कने सोचमा जिल्ला प्रशासन कार्यालय धनकुटा गएका थियौ तर नसोचेको लफडामा फसिसकेका रहेछौ ।

(जीवनप्रसाद राई )

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले द्धन्द्धकालमा भोजपुर जिल्ला प्रशासन कार्यालय जलाएकोले हाम्रो अभिलेख नष्ट भएको हो । २०६० साल फागुन १९ गते भन्दा अघि भोजपुरबाट नागरिकता लिने सबैको अभिलेख जलेको रहेछ ।

 

भोजपुर जिल्ला प्रशासन कार्यालयको पत्र आउने बित्तिकै मैले नागरिकता फाँटमा अब के गर्ने ? भनेर प्रश्न गरे उहाँहरुले भन्नु भयो वडा कार्यालयबाट प्रतिलिपिका लागि सिफारिस लिएर आउनुस भन्नु भयो । मैले अरु के के कागजात चाहिन्छ आजै भनिदिनुस न भने पहिला सिफारिस लिएर आउनुस भन्नुभयो । मैले सोचे सिफारिस भएपछि पुग्ने रहेछ ।

 

हामी फर्कियौ । २१ गते म नागरिकता प्रतिलिपि सिफारिसका लागि वडा कार्यालय हिलेमा पुगे । वडा अध्यक्ष नभएको कारणले कार्यवाहक वडाअध्यक्षबाट सिफारिसहरु लिएर २१ गते म र आमा बुवा जिल्ला प्रशासन कार्यालय धनकुटा गयौ । संभवत यो दिन म मात्रै गएर पनि हुने रहेछ तर यही दिन काम हुन्छ भनेर आमा बुवा लिएर म जिप्रका धनकुटा गएँ । सिफारिस पत्र प्रशासनमा बुझाउने बित्तिकै अर्को फाँटमा टिप्पणी लेखेर पठाईदिए ।

मैले सम्बन्धित फाँटमा त्यो सिफारिस पत्र बुझाएँ । नागरिकता फाँटबाट नयाँ प्रव्रिmयाबाट नागरिकता लिनुपर्ने भएकोले बिभिन्न ७ प्रकारका कागजात चाहिने गरि एउटा कागज लेखेर दिए । यसपछि हामी संग भएको सक्कल नागरिकता जिल्ला प्रशासन कार्यालयले खिचेर राखिदियो ।

हामी तिनैजना सक्कल नागरिकता हुदाहुदै नै अनागरिक बन्न पुग्यौ । संभवत यो बेला मुलुकमा शक्तिशाली पदमा बहाल रहेको अवस्था थियो भने मैले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने थियो होला धन्य त्यो ठाँउमा म थिईन र बचियो ।

लहरो तान्दा पहरो गर्जिन्छ भन्ने उखान त्यतिकै बनेको होईन रहेछ । कुरा सामान्य थियो सबै नेपाली नागरिक हरुले पाउने राष्ट्रिय परिचय पत्र र नागरिकताको हक थियो सम्झे रबि लामिछानेलाई तर मैले देश छोडेर गएको थिईन भोजपुर चाहि छाडेकै हो तर यत्रो ठुलो सजाय ? । त्यही काम हाम्रा लागि जीवनमा कहिल्यै नर्बिसिने खालको भयो । एउटा कामले ७ वटा काम सिर्जना गरिदियो । म जसरी भए पनि यसलाई फत्ते गर्ने भन्ने एकमात्र उद्धेश्य राखेर यसकै पछि लागे । १० वटा कामलाई थाँती राखेर म यसमा नै तल्लिन भएँ । निर्धारित मेरा तालिम, परामर्श कार्यव्रmम तथा अन्य कार्यक्रमहरु सबै स्थगन गरेर । प्रशासन कार्यालयले लेखि दिएको ७ वटा कागजातहरु यस्ता थिए १, अनुसुची १ फाराम, २, सनाखत गर्ने ब्यक्तिको सक्कल नागरिकता प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने, ३, जग्गा धनीपुर्जा ४, मतदाता परिचय पत्र, ५, बुवाको नागरिकताको प्रमाणपत्र वा बुवाको मृत्यु भईसेकेको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र ६, बसाई सराई र ७ मा ३ पुस्ते खुल्ने नाता प्रमाणित । यी कागजातहरु जुटाउनका लागि मलाई ५ दिन लाग्यो ।

मेरो आमाको बुवा २०१५ सालमै बित्नु भएको थियो र यता मेरो बुवाको बुवा बाजे २०५२ सालमा बित्नु भएको थियो । भोजपुरमा २०४७ सालदेखि पंजिकरण गर्ने नीति लागु भएकोले बुवा पट्टिको बाजेको मृत्युदर्ता नै गर्नुपर्ने भयो र मामाली बाजेको भने मृत्यु प्रमाणित चाहिने भयो । गाँउमै गएर आफैले गर्नुपर्ने भएको थियो भने कम्तिमा पनि दुई दिनको समय लाग्ने र ५ हजार खर्च लाग्ने थियो । तर मामाली भाईलाई त्यो काम सकेजति छिटो गरिदिन अनुरोध गरे काम पनि तुरुन्तै बन्यो । तर त्यो पत्रहरु ल्याईदिने मान्छे तुरुन्तै पाईएन भोलिपल्ट ११ बजे मामाली बहिनीले हिलेमा मेरो हातमा पत्र ल्याएर दियो । यही समयमा मैले हाम्रो सनाखत गर्ने मेरो छोरीको सक्कल नागरिकता बिराटनगरमै रहेकोले उसैलाई लिन पठाएँ ।

कामहरु सोचेको भन्दा छिटो नै भयो सबै कागजातहरु जुट्यो जुटाएँ । साक्षर वा पहुँचबिहिन नागरिकहरुले हो भने यस्ता कागजात जुटाउन धेरै समय लाग्ने मेरो ठम्याई रहेको छ ।

यसपछि काम बन्ने भन्ने हिसाबमा आमा बुवा म र छोरी जिल्ला प्रशासन कार्यालय धनकुटामा २४ गते बिहान १० बजे नै पुग्यौ प्रशासन कार्यालयले मागेको सबै कागजातहरु लिएर । नागरिकता फाँटमा सबै कागजात पेश गरे । फाँटवालाले सबै कागजातहरु चेकजाँच गर्नुभयो तर फेरि बसाईसराई कागजातमा मेरो नाम जीवनप्रसाद राई हुनुपर्नेमा जीवन राई मात्रै भेटियो र मेरो भाईको नाम भीम प्रसाद राई हुनुपर्नेमा भीम बहादुर राई भएकोले त्यो वडामा नै सच्चाउनु पर्ने भयो ।

म अर्को लफडामा फँसे । रिस त यति धेरै उठेको थियो तर रिसाएर केही काम बन्नेवाला थिएन । यसैले संयमित भएर मैले छोरीको पढाई धेरै छुट्ने भएकोले फाँटवाला कर्मचारीलाई विनम्र अनुरोध गरे मेरो छोरीले गर्ने सनाखत चाँहि आजै गरिदिनु फेरि उ आउनु नपर्ने गरि । यसपछि मेरो छोरीको काम चाँहि त्यही दिन नै भयो । तर छोरी मानिसले गर्ने सनाखतमा अविबाहित भएको प्रमाण पेश गर्नुपर्ने रहेछ अर्को लफडा आईलाग्यो । पुनः वडामै फर्कनुपर्ने भयो । २५ गते शुव्रmबार वडामा म आफु उपस्थित हुन नसकेको कारणले मेरो छोरीलाई पठाँए । अविबाहित सिफारिस पत्र बन्यो तर बसाईसराई बनेन ।

बसाईसराईका लागि जति जना बसाई सरि आएको हो उनीहरुको सबैको नागरिकताको फोटोकपी अनिवार्य चाहिने रहेछ ।

वडाबाट अर्को लफडा सिर्जना भयो । मेरो, आमा र बुवाको नागरिकताको फोटोकपी म संगै थियो । समस्या कहाँनिर भयो भने दुईजना भाईहरु र बहिनीको नागरिकता बटुल्न समय लाग्ने भयो । माईलो भाईलाई फोन गर्ने बितिकै काम भयो तर अष्ट्रेलियामा रहेको कान्छो भाई र बाहिरै रहेको बहिनीको नागरिकता चाहेर पनि तत्काल प्राप्त हुनै सकेन । तैपनि कोसिस जारी राखेर मैले शनिबार बेलुका सम्ममा प्राप्त गरे ।

आईतबार कार्यालय खुल्ने बित्तिकै म वडा कार्यालय पुगे तर असाध्यै भीड भएकोले मेरो पालो १ बजेतिर मात्रै आयो । जब मेरो पालो आयो तब अनलाईन काम गर्ने सर्वर नै गयो । ३ बजे सम्म पनि काम गरेन सर्वरले । यसपछि बल्ल अलिअलि काम चल्ने गरि सर्वर चल्न थाल्यो तर सारै दुःख दियो सर्वरले एउटै ब्यक्तिको तीनपटक सम्म अनलाईन फाराम भर्नुपर्ने गरि दुःख दियो । यसरी ढिलाई हुनुमा हामी बसाई सरि आउने सबैको जन्मदर्ता गरेर मात्रै बसाईसराईको कागज बन्ने रहेछ । बेलुकै सम्मै पर्खेर बसाईसराई बनाएर ल्याएँ । २८ गते सोमबार बिहान ९ बजे नै खाना खाएर हामी म आमा र बुवा धनकुटा जिल्ला प्रशासन कार्यालय प्रस्थान गर्यौ । तर भीड निकै बाक्लो थियो । मैले सबै कागजात पेश गरे । ३ बजे सम्ममा हाम्रो प्रतिलिपि नयाँ नागरिकताहरु प्राप्त भयो । आमा र बुवाको सोही दिनमै राष्ट्रिय परिचय पत्र पनि बन्यो तर मेरो समयले भ्याएन । अब मेरो र श्रीमतिको राष्ट्रिय परिचय पत्र र छोरोको नागरिकता बन्न बाँकी रह्यो ।

मैले यो लेख किन लेख्नुपर्ने भयो भने यो मेरो र आमा बुवाका कारणले भएको थिएन । सरकार र माओवादीका कारणले सिर्जना भएको समस्या थियो । एउटा बिराउने शाखा पिराउने उखान पनि नेपालीहरुले बनाएको त्यतिकै होईन रहेछ ।

सरकार र माओवादीले गरेको गल्ती हामी नागरिकलाई बोकाउने भएकोले यो लेख लेख्नु परेको हो । झट्टै हेर्दा नपरेको मानिसहरुलाई यो सामान्य नै लाग्छ र परेको मानिसहरुलाई कन्सिरी तात्छ । यहाँ सोन्दै नसोचेको आर्थिक तथा समय नोक्शानीको बारेमा उल्लेख नगरिकन यो लेख पुर्ण हुदैन ।

२० गते देखि २८ गते सम्म लगातार रुपमा यातायातमा मात्रै १५ हजार रुपियाँ खर्च भयो यसपछि दुईतिरको वडा कार्यालयमा लागेको राजश्व मात्रै रु ५ हजार, बिभिन्न फोटोकपी गर्नमा २ हजार ५ सय खर्च भयो । खाजा र पानीमा मात्रै रु. २ हजार गरि २४,५००÷– खर्च भयो । यदि टाढाबाट वा होटलमा बसेर यो काम गर्ने हो भने खर्च कति लाग्छ ? यसकै कारण नागरिकहरु कंगाल हुन्छन भन्ने बुझ्ने प्रशासक वा पदधारी मानिसको खाँचो पनि देखे मैले । मामुली रुपमा पनि एक परिवारलाई बर्षदिन खाना पुग्ने रकम हो यो । आर्थिक अभाव र मन्दीको बेला यो सोच्दै नसोचेको रकम खर्च गनुपर्ने अवस्था आयो । हाँस्नु कि रुनु । मैले जसोतसो यो रकम जुटाए तर सामान्य नागरिकले कि जमिन बेच्नुपर्छ कि त राज्यले दिएको सुबिधाबाट बन्चित हुनुपर्छ । यसपछि पुर्व निर्धारित परामर्श कार्यव्रmमलाई नै मैले रोके यसबाट मैले कम्तिमा पनि रु. २ लाख रुपियाँ क्षति खेप्नु पर्यो । अन्य कार्याक्रमहरु त सबै रोकिए र यस बीचमा भएको मानसिक तनाबको कुनै हिसाब नै रहेन ।

यो मुलुकलाई बस्न लायक बनाउनका लागि नै मैले अनौपचारिक रुपमा ३५ बर्ष देखि खटिरहेको छु । नागरिकहरुलाई यो मुलुक प्रति विश्वास जगाउनका लागि सरकारले यसप्रकारका कागजी प्रक्रियाहरुलाई सरलीकृत गर्नुपर्ने सुझाब दिन चाहन्छु र भन्न चाहन्छु म यो देशको जिम्मेवार नागरिक हो अनि सम्झन्छु अरु नागरिकहरु भन्दा मलाई हर तरहले उच्च सम्मान छ । तर मेरै हालत यस्तो छ भने दुरदराजका नागरिकहरुको हालत कस्तो होला सोच्छु । म जतिसुकै यस्ता झमेला भए पनि यो मुलुक छोडेर बाहिरिने सोच आउदैन तर मेरो जस्तै सोच सबैको हुनुपर्छ र ? यो पनि सोच्छु सरकारकै कारणले अनाहकमा नागरिकहरुले दुःख झेल्न नपरोस । जय देश ।।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।