रवि पक्राउ स्वाभाविक, अन्य आरोपी पनि पक्राउ पर्नुपर्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ स्वाभाविक प्रक्रिया भएको बताउनुभएको छ ।
सोमवार बिहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संसदीय छानबिन समितिले दिएको प्रतिवेदन अनुसार लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताउनुभयो । प्रतिवेदनले सिफारिस गरेका अन्य दोषी भनिएकाहरूलाई पनि छानबिनका लागि सरकारले पक्राउ गर्नुपर्ने उहाँको धारणा छ ।
लामिछानेको बारेमा अब अदालतले निर्णय गर्ने बताउँदै प्रचण्डले रास्वपाले सो निर्णय पर्खनुको विकल्प नरहेको बताउनुभयो । लामिछाने स्वयंले पनि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रूपमा लिनुपर्ने उहाँको धारणा छ ।
अहिलेका विभिन्न समस्यालाई समेटेर माओवादी केन्द्र लगायतका प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । आज साँझ प्रतिपक्षी दलले विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उहाँले जानकारी दिनुभयो ।
दाहाल आज जुम्लामाको जनसभालाई सम्बोधन जाने क्रममा नेपालगञ्ज ओर्लिनु भएको हो । दाहालले सिञ्जा कनकसुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दाहालले आजै मुगु रारा क्षेत्रको पनि अवलोकन गर्नुभएको छ । आजै काठमाडौंबाट नेपालगञ्ज हुँदै मुगुको रारा अवलोकन गरी सभालाई सम्बोधन गरेर दाहाल साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।


