सरकारी कार्यालय भोलिबाट मात्रै खुल्ने
काठमाडौं । तिहारको मुख्य दिन भाइटिका हिजो सकिए पनि आज पनि सरकारी कार्यालय बिदा छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहार हिजो भाइटिकाबाट औपचारिक रूपमा सकिए पनि कार्यालय आउने कर्मचारीलाई बाटो म्याद दिन सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो ।
२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटिका कहिले लगाउने भन्ने विवाद भएको थियो । पञ्चाङ्ग निर्णायक समितिले निकालेको पात्रोमा मङ्सिर १ गते भाइटिका उल्लेख थियो । नेवार समुदायले मङ्सिर २ गते किजापूजा गरेको थियो । त्यसैले सरकारले तिहारको बिदा एक दिन थप गरेको थियो ।
त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटिकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ । तिहारको टीकाकै भोलिपल्ट कर्मचारीलाई कार्यालय पुग्न समस्या भएको भन्दै एक दिन बिदा थप गर्नुपर्ने माग लामो समयदेखि चल्दै आएको थियो ।


