प्रचण्ड सता छोड्नेवित्तिकै छट्पटाएका छन्, भ्रमको खेती गर्दै देशमा अस्थिरता ल्याउँदैछन् : प्रदीप ज्ञवाली

सञ्जय मिश्रा, रौतहट । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्।

दाहाललाई लक्षित गर्दै उनले विकास हेरेर केही नेतालाई ‘ज्वरो आउने’ गरेको टिप्पणी गरे। रौतहटको मध्यभाग गरुडास्थित मंगलबार ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेकपा एमाले वडाकेन्द्रित तीन महिने अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै मंगलबार ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।

नेकपाको दुई तिहाइको सरकार भत्काउनेहरूले अहिले देशलाई अस्थिरतातिर लैजाने प्रयास गरिरहेकोले कांग्रेस पार्टीसँग मिलेर एमालेले स्थायी सरकार बनाएको ज्ञवालीले बताए।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा देशमा सबै ठिक र सरकार छोडेपछि जनतामाझ अनेक भ्रम पैदा गरिरहेको उनले आरोप लगाएका थिए।
‘प्रचण्डकै अगुवाइमा कोशी प्रदेश नामाकरण गरिएको थियो तर अहिले उनी प्रधानमन्त्री नहुँदा नागरिकलाई जुधाउने काम गरिरहेका छन्,’ उनको तर्क थियो।

प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वापा सभापति रवि लामिछानेको सांसद पद जाँदा उपचुनाव भएको विदितै रहेको भन्दै ज्ञवालीले अहिले प्रचण्डले एमाले-कांग्रेस मिलेर रविलाई फसाउने काम गरेको भनी रविलाई उचाल्ने काम प्रचण्डले गरिरहेको बताए।

‘नेपालमा ३७ वर्ष एमाले भूमिगत रहेको पार्टी हो। त्यसको आधा अवधि प्रतिपक्षमा रहँदा कुनै फरक परेन तर अहिले प्रचण्ड सता छोड्नेवितिकै छट्पटाए,’ उनले भने।

‘नेपालमा औसतमा १४ महिना मात्र कुनै पनि सरकार चल्ने गरेको छ, भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन्, चीनमा लामो समयदेखि एउटै प्रधानमन्त्री छन्, अनि त्यहाँको विकास भएको छ,’ ज्ञवालीले थपे।
प्रचण्ड र मधेशवादी पार्टीप्रति आक्रोसित मुद्रामा पेस भएका ज्ञवालीले माओवादीको १० वर्षे द्वन्द्वले देश पछाडि मात्रै गएको नभएर १७ हजार नेपालीको मृत्यु, हजारौं घाइते भएको देशको अवस्था सामान्य बनाउन २० वर्ष लागेको बताए।

‘निरासाको खेती गर्ने प्रचण्डलाई त्यस्तो भन्ने अधिकार नैतिकता छैन र हाम्रै पालामा देश समृद्ध हुने एमालेको ग्यारेन्टी गरेको छ,’ उनले भने।
देशमा जहिले पनि स्थायित्व र अस्थिरता ल्याउनेबीच द्वन्द चलिनैरने भएकाले अहिले भ्रमपूर्ण सूचनाको भरमारमा देश रहेको ज्ञवालीले बताए। कतिपय मिडियाले जानी-जानी तथ्य तोडमरोड गरेर जनतालाई भ्रम छर्ने काम गरेको उनले बताए।

उनले नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धीसँगै सहयात्री पनि रहेको विचार राखे। ‘जबऔजब देशमाथि संकट आउँछ तब-तब यी दुई दल एक भएर हातेमालो गरी देश र नेपाली जनतालाई संकटबाट बाहिर ल्याएका छन्,’ उनले भने।

कार्यक्रमका प्रमुख अतिथि उपमहा सचिव प्रदीप ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि मुलुकमा विकासले गति लिएको बताए। उनले योभन्दा अझ बढी गर्नुपर्ने र अर्को वर्षसम्म मौलिक रूपमा नेपाल विकासशील राष्ट्रको रूपमा हुने जिकिर गरे।

सहकारीको मुद्दामा रास्वापा सभापति रवि लामिछने निर्दोष भए किन डराएको भन्दै सडकमा भीड जम्मा गरेर फैसला नहुने बताए। सहकारीपीडितको रकम फिर्ता गराउन सरकारले कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

ज्ञवालीले आफूलाई मधेसको मसिहा भन्ने नेता तथा मधेशबादी दलको एजेण्डाभित्र मधेसी जनताको पीडा कहिल्यै पर्न नसकेको दाबी गरे।
ज्ञवालीले जसपाको सरकारले ७ वर्ष मधेस प्रदेश सरकारको नेतृत्व गरेको अवधपमा मधेशी जनताको कुनै विकास नभएको बताए। उनले अहिले पनि मधेसमा शिक्षा र साक्षरताका कर्णाली प्रदेशभन्दा पनि पछाडि परेको बताए।

उनले मधेसवादी दलका नेताहरूले सधैं मधेसी जनतालाई सत्तामा चढ्ने भर्याङको रुपमा मात्र प्रयोग गरेको बताएका थिए।

तुलसीलाल स्मृति भवन गरुडामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पार्टी मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य अजय गुप्ता, मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल लगायतले सम्बोधन गरेका थिए।

उक्त अवसरमा केन्द्रीय सदस्य उद्धव रेग्मी, कुन्दन कुशवाहा, केन्द्रीय लेखासमिति सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह, पूर्वमन्त्री रेखा झा, प्रदेश सांसद केशव राय चौधरी, जैद राजा, आरती भण्डारीलगायत केन्द्रदेखि वडास्तरका गरी ५०० भन्दा बढी नेता-कार्यकर्ताको सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।