अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं – नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ।

आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ। त्यसबीच ब्याण्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफुलाई उभ्याउने छ।

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यको यो सातौँ अष्ट्रेलिया यात्रा श्रृंखला हो।

‘नेपथ्यले स्थापनादेखि नै देश विदेशमा प्रस्तुती दिँदै आएको भएता पनि ब्याण्डलाई विशिष्ट कलेवरमा पहिलोपटक उभ्याउने काम अष्ट्रेलियाले गरेको थियो,’ मुख्य गायक एवं अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यहाँका श्रोता दर्शकबाट पाइने न्यानो मायाले हरेक यात्रामा अविष्मरणीय छाप छोड्दै आएको छ।’

अष्ट्रेलियाको यात्रामा यसपटक छ जना ब्याण्डका सदस्य र आठ जना प्राविधिक एवम् व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट राजधानी क्यानबेराको ‘नेशनल कन्भेन्सन सेन्टरस्थित रोयल थिएटर’ मा आयोजना हुनेछ। त्यसको छ दिनपछि अर्थात् मार्च महिनाको ९ तारिख पर्थको ‘मेट्रो सिटी’मा नेपाली लोकरकको चीरपरिचित स्वर गुञ्जिनेछ। यो सहर वेस्टर्न अष्ट्रेलिया राज्यको राजधानी हो।

मुलुककै पश्चिमी किनारामा यसरी प्रस्तुत हुनासाथ ब्याण्ड फेरि पूर्वी किनाराको ब्रिस्बेन पुग्नेछ। क्विन्स्ल्याण्ड राज्यको यो राजधानीस्थित ‘दी टिभोली’ हलमा मार्चको १४ तारिख प्रस्तुती रहने छ।

त्यसको लगत्तै टोली दक्षिणवर्ती टापु तास्मानियाको यात्रामा हिँड्ने छ। राजधानी होबार्टस्थित ‘ओडिअन थिएटर’  मा मार्च १८ तारिख नेपथ्यका गीतहरु सुनाइने छन्। यो हलमा यसअघि पनि ब्याण्डले कार्यक्रम गरिसकेको छ।

पाँचौं प्रस्तुति भने साउथ अष्ट्रेलिया राज्यको राजधानी एडिलेडमा आयोजना हुने छ।  मार्च २१ तरिखका दिन त्यहाँस्थित ‘हिण्ड्ले स्ट्रीट म्यूजिक हल’ मा ब्याण्डले प्रस्तुती दिनेछ।

त्यसलगत्तैको कन्सर्टका लागि ब्याण्ड भिक्टोरिया राज्यको राजधानी मेलबर्न पुग्नेछ। मार्च २४ तारिखका दिन त्यहाँस्थित ‘फेस्टिभल हल’ मा नेपथ्यले आफूलाई उभ्याउनेछ।

त्यसपछिको नेपथ्य यात्रा भने पृथ्वीको दक्षिणी गोलाद्र्धमै ब्याण्डका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ।

अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा नेपथ्य कन्सर्ट ‘होडर्न पभिलियन’मा आयोजना हुनेछ। थुप्रै विश्वविख्यात कलाकारहरुले आफूलाई प्रस्तुत गरिसकेको मुर पार्क स्थित यो हलमा नेपथ्य दोस्रोपटक उभिन लागेको हो।

यसरी सिड्नीमा ब्यापक दर्शकको घेरा अनुभव गरिसकेपछि ब्याण्ड स्वदेश फिर्तिको तयारीमा लाग्ने छ।

‘श्रोता-दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं,’ मुख्य गायक एवं अगुवा अमृत थप्छन्, ‘त्यहाँका दर्शकहरुलाई पहिलेको भन्दा फरक सेटलिस्ट सहित गीत सुनाउने तयारी पनि चल्दैछ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।

नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्याण्डसँग नेपालय आवद्ध भएको यो २५ औं वर्ष पनि हो। यसबीच ब्याण्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफुलाई उभ्याइसकेको छ।

‘नेपालीभाषीको उल्लेख्य उपस्थितीसँगै अष्ट्रेलियामा नेपाली कलाको बजार विकास भइसकेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसलाई अझ विस्तारित एवं दिगो बनाउँदै लैजान हामीले नेपथ्यलाई सदैव जिम्मेवारीपूर्वक उपस्थित गराउँदै आएकोमा यसपाला पनि त्यसले निरन्तरता पाउने छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।