धनकुटामा मौलिक संगीतलाई प्रवर्द्धन गर्न “नो कभर डे” सांगितिक कार्यक्रम
धनकुटा,६ फागुन । बौद्धिक विकास समिति र आरोहा ब्याण्ड धनकुटा को संयुक्त आयोजनामा “नो कभर डे” धनकुटा संस्करण आयोजना हुने भएको छ ।
धनकुटामा आज पत्रकार संमेलन गर्दै आयोजकले दिएको जानकारी अनुसार भोली फागुन ७ गते मौलिक संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले नो कभर डे धनकुटाको संस्करण आयोजना गर्न लागेको हो । यस सांगितिक कार्यक्रममा धनकुटा सहित विभिन्न स्थानबाट आएका ६ वटा चर्चित ब्याण्डहरूले आफ्नै मौलिक सिर्जना प्रस्तुत गर्ने आयोजक संस्थाका कार्यक्रम संयोजक सीरज जोशीले जानकारी दिए ।
धनकुटा बिच बजारको दीप इङ्गलिस सेकेन्डरी स्कूलमा आयोजन हुने कार्यक्रममा लक्ष्य, आरोहा, चुम्बक, विभिन्न, जेरम र स्काइ एडी ब्याण्ड ले आफ्नो प्रस्तुती दिने भएका हुन् । मौलिक संगीतको प्रवर्द्धन गर्ने, स्थानीय तथा उदाउँदा संगीतकर्मीहरूलाई प्रोत्साहन गर्ने तथा सराब तथा लागू पदार्थ निषेध, स्वच्छ र सकारात्मक वातावरण सुनिश्चितगर्नका लागि प्रेरित गर्ने समेत कार्यक्रमको उद्धेश्य रहेको संयोजक जोशीको भनाई थियो ।
कार्यक्रममा स्वतन्त्र संगीतलाई प्रवर्द्धन गर्दै स्थानीय कलाकारहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने सुनौलो अवसर हुने धनकुटा नगरपालिका ६ का वडा अध्यक्ष मिलन खड्गीले बताए ।


