वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यवस्थापनमा लापर्वाही

काठमाडौं, २५ बैशाख । अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ । 

 

स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।

 

 सेन्टरले केस नम्बर ३४,१३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो । 

 

गुनासो कर्ताले गएको सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ट अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो । 

 

 

अनुगमनका क्रममा फोहर व्यवस्थापनको अभ्यास हेर्ने क्रममा अस्पतालका डेपुटी म्याटर्न भाइकुमारी गुरुङ्गले अटोक्लेभ गर्ने भनिएको सानो कोठामा पुर्‍याउनुभयो । त्यो कोठामा मुस्किलले २ जना अट्टाउन कठिन थियो ।

 

 उनले दैनिक ५ किलोग्रामसम्म हानीकारक फोहर निर्मलीकरण गर्ने गरिएको अटोक्लेभ मेसिन देखे । त्यो ठाउँ र अटोक्लेभ मेसिनको बाहिरी भाग धुलोले ढाकिएको देखेर अनुगमन टोलीले निर्मलीकरण गरिएको भनेर पत्याएन । 

 

 

टोलीले नपत्याएपछि गुरुङ्ले विश्वस्त पार्दै भन्नुभयो, ‘मैले यहाँ काम गरेको १८ वर्ष भयो । म हजुरहरुलाई किन ढाँटूँ?’ उहाँको भनाइ मान्दै टोलीले भन्यो, ‘उसो भए अटोक्लेभ गरिएको फोहर हेरौँ न त ।’ 

त्यसपछि फोहर व्यवस्थापनमा खटिने २ जना महिलाहरुले फोहरको पोको ल्याउनुभयो । भुइँमा प्लाष्टिक विछ्याएर पोको खोलियो । खोल्दा खोल्दै गुरुङ् भन्दै हुनुहुन्थ्यो, ‘ऊ बाहिर टाँसिएको टेप हेर्नु त । पाकेको यसैबाट थाहा भइहाल्छ नि ।’ 

फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लाष्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । बस्तुको कुनै पनि रङ्ग परिवर्तन भएको थिएन । हेर्दा हेर्दै यो अवस्था देखिएपछि गुरुङ्ले सच्याउँदै भन्नुभयो, ‘प्लाष्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’

गुनासोकर्ताले गुनासो गरेजस्तै अस्पतालको कम्पाउण्डमा फोहर राखेर दुर्गन्ध फैलिएको थिएन । अस्पतालको कम्पाउण्ढको स्वच्छतामा भने कमजोरी थियो । बरु, अटोक्लेभ गरेर राखेको भनिएको फोहरबाट भने कडा गन्ध आएको थियो । 

यो अस्पतालमा अनुगमन गरिएको पहिलो पटक भने होइन । 

 

यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरपालिकाले चाहेको वातावरणीय अवस्थाका विषयमा वुझाइएको थियो । यो अस्पताल मात्र होइन । दोहोर्‍याएर अनुगमन गर्दा हरेकजसो अस्पतालले पहिलो पटक टोली पुगेको जस्तो, आफू अनभित्र भएको जस्तो अभिव्यक्ति दिने गरेका छन् । 

 

 

अस्पतालको फोहर टोखाबाट सञ्चालित हिमालयन प्रा. लि. ले संकलन गर्ने गरेको छ । अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले, महानगरपालिकाले हुन्छ नभनेसम्म फोहर संकलन नगर्न निर्देशन दिए । 

 

 

ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सकिन्छ ।

 

 यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।  

 

फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु अस्पतालहरुले हानीकारक फोहर व्यवस्थापनमा गरेका लापर्वाही हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।