साँगुरीगढीमा नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर जेष्ठ १३ गते साँगुरीगढी-२ बुढिमोरङ र जेष्ठ १४ गते साँगुरीगढी-९ स्थित आहाले स्वास्थ्य चौकीमा सम्पन्न भएको हो।
बुढिमोरङमा आयोजित शिविरमा ७२० जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए भने आहालेमा ६१६ जना बिरामीले सेवा लिएका छन्। नोबेलका जनसम्पर्क अधिकृत नविन दाहाल र डिजिटल मार्केटिङ शाखाका सुमन राजवंशीका अनुसार शिविरमा विभिन्न विशेषज्ञ सेवा निःशुल्क प्रदान गरिएको थियो।
शिविरमा बालरोग, स्त्री तथा प्रसूति रोग, जेनेरल मेडिसिन, हाडजोर्नी तथा नशा सम्बन्धी सेवा, दन्तरोग, नाक-कान-घाँटी, मानसिक रोग, शल्यक्रिया परामर्श, रेडियोलोजी, प्रयोगशाला परीक्षण (रगत र पिसाब), मुटुको इ.सी.जी. परीक्षण र आँखाको चेकजाँच सेवा उपलब्ध गराइएको थियो।
स्थानीय बासिन्दाहरूका भनाई अनुसार शिविरले दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई अत्यावश्यक स्वास्थ्य सेवा नजिक पुर्याउने अवसर दिएको भन्दै धन्यवाद प्रकट गरेका छन्।
गाउँपालिकाका अनुसार आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको छ।





