कृषकहरुलाई विश्वासमा लिई उत्पादन बढाउने प्रयासमा कोशी सरकार
विकास घिमिरे /धनकुटा, २४ जेठ । कोशी प्रदेश सरकारले धनकुटालाई फलफूल तथा नगदे बाली उत्पादनलाई प्राथमिकतामा राखेको छ । सरकारकोउद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटामार्फत कृषि तथा कृषक लक्षित ३५ भन्दा बढी कार्यक्रम सञ्चालन गरी कृषि उत्पादनमा जोड दिएको हो । ती मध्ये सरकारले फलफूल, तरकारी, र नगदे बालीलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाइरहेको छ ।
कृषि ज्ञान केन्द्रले सुन्तला बगैंचा व्यवस्थापन, अलैंची बगैंचा व्यवस्थापन, रेशम खेती विकास कार्यक्रम, उत्कृष्ट कृषक सम्मान, खाद्य अधिकार संरक्षण सम्बन्धी सचेतनासँगै आवश्यक सामग्री उपलब्ध गराई बाली संरक्षणमा योगदान गरेको छ ।
रोग निवारण गर्न सुन्तला बगैंचा व्यवस्थापन
धनकुटा नगरपालिका वडा नम्बर ५ का कृषक गोबिन्द श्रेष्ठले आफ्नो बारीमा लगाएको सम्पूर्ण सुन्तला खेती अहिले हटाइसकेकाका छन् । त्यस्तै सहिदभूमि गाउँपालिकाको खोकुका प्रृथुराम राईले पनि सुन्तला खेतीमा भविष्य नभएको भन्दै खेतीको विकल्प खोजिरहेका छन् । श्रेष्ठ र राई त सुन्तला खेतीको विकल्प खोज्ने प्रतिनिधि पात्र मात्र हुन् केहि वर्ष अघिसम्म सुन्तला खेतीबाट आम्दानी लिइरहेका धनकुटाका सुन्ताला उत्पादनले कहलिएका अधिकांश किसानको अवस्था उस्तै उस्तै छ ।

पहिला आम्दानीका हिसाबले राम्रो रहेको सुन्तला खेतीबाट अहिले त्यस अनुसारको आम्दानी दिन छाडेपछि बाजेको पालादेखि गर्दै आएको सुन्तला खेतीको बगान नष्ट गर्नुपरेको धनकुटा नगरपालिकाक ५ का गोविन्द श्रेष्ठले बताए । सुन्तालाले उत्पादन दिन छाडेपछि उनले नयाँ प्रजातिको समेत परीक्षण गरे । प्रविधिकको सल्लाह अनुसार रोग किराको उपचार पनि गरे । तर कुनै पनि उपाय नलागेपछि उनले सुन्तला खेती छाड्ने निश्कर्ष निकाले ।
यही समस्यालाई मध्येनजर गर्दै कृषि ज्ञान केन्द्र धनकुटाले सुन्तला बगैंचा व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीय तह मार्फत सञ्चालन गरेको छ । जसले सुन्तला खेतीबाट पछि हट्ने योजना बनाइरहेका किसानहरुलाई रोग तथा किरा नियन्त्रण गरी उत्पादन बढाउने र खेतीबाट आम्दानी गर्न सकिने विश्वास पैदा भएको छ । उक्त कार्यक्रम ६ लाख रुपैयाँको बजेटमा सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार अनुसार धनकुटाका धेरै किसान परिवार सुन्तला खेतीमा आबद्ध भएको र यहाँ उत्पदित सुन्तला तुलनात्मकरुपमा मिठो, स्वादिलो र रसीलो भएकोले अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुने गरेको छ ।
जलवायु परिवर्तन, रोगकिराको प्रकोपका कारण पछिल्लो समय सुन्तला खेतीमा थुप्रै समस्या देखिएका छन् । ती समस्या निरुपण गर्न ज्ञान केन्द्रले चालु वर्षको बजेटमा सुन्तला बगैंचा व्यवस्थापन कार्यक्रम मार्फत किसानलाई तालिम तथा अभिमुखीकरणसमेत गराएको छ । सुन्तला खेतीको विकल्प खोज्ने स्थितिमा पुगेका किसानलाई निरुत्साहित हुन नदिन सरकारले रोग निवारणका लागि आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरेको प्रमुख रानाले जानकारी दिए । त्यसका लागि किसानलाई निलोतुथो, विषादी, सिंचाइ पाइप, कृषि चुनलगायतका सामग्री उपलब्ध गराएको थियो । जलवायु परिवर्तनको र अन्य विविध कारणले सुन्तला तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रतर्फ सदै गएकाले बगैंचा व्यावस्थापनको कार्यले किसानलाई धेरै फाइदा पुग्ने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख राना मगरको भनाइ छ । बगैंचा व्यवस्थापन कार्यक्रमबाट स्थानीय किसानहरू लाभान्वित भएको कृषि ज्ञान केन्द्रले दाबी गरेको छ । बगैंचा व्यावस्थापन बाट किसान लाई राहत मिलेको धनकुटाको चौबिसे गाउँपालिका २ का कृषक चिन्तामणी पौडेलले बताए । उनले भने ‘ रोग किराले बगाना सखाप हुदै गएको थियो तर ज्ञान केन्द्रको सहयोगमा भएको बगैंचा व्यावस्थापनले पुराना बगान जोगाउन नसकिए पनि नयाँ बगानका बोटमा भने राम्रो फाइदा पुगेको छ’ । यसको परिणम आगामी उत्पादनमा समेत देख्न सकिने पौडेल बताउँछन् ।
त्यस्तै पाख्रिवास नगरपालिका ३ का कृषक लोकबहादुर राईका अनुसार बगैँचा व्यावस्थापन पछि बगैंचामा सुधार देखिन थालेको बताए । धनकुटाबाट आर्थिक वर्ष २०८१÷८२ मा करिब १४ करोड १८ लाख मूल्य बराबरको सुन्तला निकासी भएको कृषि ज्ञान केन्द्रको तथ्यांक रहेका छ ।

अलैंची खेतीमा नयाँ आशा
पहाडी जिल्ला धनकुटामा परम्परागत कृषिमा नयाँ उर्जा संचार भएको छ । सरकारी सहयोगमा अलैंची खेतीमा देखिएको सकारात्मक परिवर्तनले किसानहरूमा नयाँ आशा जगाएको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ७ का अलैंची कृषक धर्मध्वज राईका अनुसार कृषि ज्ञान केन्द्रले गर्दै आएको सहयोग राम्रो रहेको तर यस्तो सहयोग लाइ बढाउनु पर्ने बताए । ज्ञान केन्द्रले विषादी, सिंचाइ पाइप र अन्य सामग्री उपलब्ध गराएर व्यापक रुपमा भाइरसमुतm विरुवा वितरण गर्न आवश्यक देखिएको राईले बताए । तर अहिले ज्ञान केन्द्रले गरेको सहयोगले पनि किसानलाई नयाँ आशा भने जगाएको उनको भनाइ थियो । यस्ता समस्यालाई समाधान गर्न भने र कृषि ज्ञान केन्द्र धनकुटाले यस आर्थिक वर्षमा अलैंची बगान व्यवस्थापनका लागि किसानहरुमाझ कार्यक्रम सञ्चालन गरेको छ । अलैंची खेतीलाई व्यवस्थित, रोगमुक्त र टिकाउ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको केन्द्रका प्रमुख रानाले जानकारी दिए ।
बगान व्यवस्थापनअन्तर्गत उचाइअनुसार उपयुक्त जातको छनोट, नर्सरी स्थापना, उचित सिँचाइ व्यवस्थापन, मलचिङ, जैविक मलको सन्तुलित प्रयोग, छायाँ व्यवस्थापन र रोग–कीरा नियन्त्रण जस्ता विषयमा किसानलाई प्राविधिक सहयोग प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार समुन्द्र सतहदेखि ६०० मिटरदेखि २,२०० मिटर उचाइसम्मका भू–भाग अलैंची खेतीका लागि उपयुक्त मानिन्छ। तर हाल छिर्के, फुर्के, गानो कुहिने, बोट सुक्ने, दाना नलाग्ने जस्ता समस्याहरू देखापरेका छन् ।
विज्ञहरूका अनुसार यस्ता समस्याको समाधानका लागि नियमित निगरानी, रोग प्रतिरोधी जातको प्रयोग, भाइसर विरुवा रोपण तथा जैविक उपचार विधिको प्रयोग अपरिहार्य भएको छ । धनकुटामा गत वर्ष २ सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट करिब ३४ हजार ८ सय किलो अलैंची उत्पादन भएको र त्यसबाट करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक छ ।
रेशम खेतीमा पुनरुत्थानको संकेत
३० वर्षअघि कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको रेशम खेती कार्यक्रम कोरियाली सहयोग हटेसँगै धरायसी बन्दै गएको थियो । तर अहिले उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोग पाउन थालेसँगै धनकुटामा रेशम खेतीको विकास हुने देखिएको छ ।
रेशम खेतीमार्फत बाँझो जग्गाको सदुपयोग हुने साथै किसानले परम्परागत बालीभन्दा राम्रो उत्पादन लिने भए पनि अपेक्षित सफलता प्राप्त गर्न नसकेको अवस्थामा खेती विस्तार र कोकुन उत्पादनमा प्रदेश सरकारको सहयोगले फेरि खेतीलाई लयमा फर्काउने आशा उनीहरुमा जागेको छ ।

कोशी प्रदेश सरकारले यस वर्ष किरा पालन, पुरानो किम्बु बगान व्यवस्थापन, व्यावसायिक कोया उत्पादनमा कृषक स्तरमा रेशम कोया उत्पादन लगायतका क्षेत्रमा सहयोग गरेको छ । यसले रेशम खेती गर्ने किसानलाई उत्साहित बनाएको प्रमुख रानाले बताए । केन्द्र आफैंले २२ रोपनीमा रेशम खेती गर्दै आएको जानकारी दिँदै उनले धनकुटामा रेशम खेतीका राम्रो सम्भावना रहेको बताए । धनकुटामा अलैंची र रेशम खेतीमा देखिएकोसकारात्मक परिवर्तनले पहाडी कृषिलाई नै नयाँ दिशा दिनसक्ने उनको बुझाइ छ । धनकुटामा अघिल्लो वर्ष करिब एक सय किलो कोकुन उत्पादन भएको थियो योे वर्ष उत्पादनको चरण मै रहेकोले अघिल्लो वर्षको तुलनामा उत्पादन बढ्ने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
कृषि उत्पादन बृद्धिका थप प्रयासहरू
अलैंची उत्पादन सुधारका लागि कोशी प्रदेश सरकार र नेपाल अलैंची व्यवसायी महासंघको संयुक्त आयोजनामा धनकुटामा केही समय अघि वृहद छलफल आयोजना गरेको छ । जसले अलैंची उत्पादन बृद्धिका साथै त्यसको गुणस्तर कायम गर्न र बजारीकरणमा देखिएका समस्या समाधान गर्नका लागि निकै महत्वपूर्ण देखिएको छ । किसान, व्यवसायी र विज्ञहरूबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरी समस्या निदान र समाधानका उपायहरू खोजिएका कारण किसानहरुले त्यसलाई निकै सकारात्मक कदमको रुपमा लिए ।
अलैंची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले भू–उचाइअनुसार उपयुक्त जातको अलैंची खेती गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । यस्तै समुद्र सतहदेखि २,२०० मिटर माथि रामराई र भर्लाङ्ग, १,२००–१,६०० मिटरमा गोलसाई र ६००–१,२०० मिटरमा जिर्मले र डम्बरसाई जातको खेती गर्न किसानहरूलाई सल्लाह दिने गरेका छन् । राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिवासका अलैंची विज्ञ मनिष ठाकुरले टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएका भाइसरयुक्त विरुवाले राम्रो उत्पादन दिने जानकारी किसानहरुलाई दिए ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईका अनुसार कोशी प्रदेशबाट वार्षिक आठ अर्बभन्दा बढी रुपैयाँ बराबरको अलैंची निर्यात हुन्छ । स्वदेशमै प्रशोधन गरी खाद्यपदार्थ, मसला र चिया उत्पादनमा उपयोग भइरहेको छ । त्यसमा प्रदेश सरकारले ध्यान दिएर कार्यक्रमहरु अगाडि बढाइरहेको छ ।
कोशी प्रदेश सरकारले प्रत्यक्ष नगद अनुदानको प्रभावकारिता घटेको र नगद अनुदान दुरुपयोगको घटना बढ्दै गएकोले अप्रत्यक्ष ब्याज अनुदानको नीति अगाडि सारेको छ । त्यसका विषयमा पनि जिल्लाका किसानहरुलाई जानकारी गराइएको छ । कोशी प्रदेश सरकारले व्यावसायिक कृषि प्रवर्धनका लागि ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकबाट लिएको कर्जामा ६ प्रतिशत, वित्तीय संस्थाको कर्जामा ७ प्रतिशत र सहकारीको कर्जामा ८ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरिएको छ । यसले किसानहरुलाई पुँजीको अभाव नहुने, बैंकबाट कर्जा लिएर उत्पादनमा लगाउन सकिने र ब्याजमा अनुदान प्राप्त हुँदा कृषि कर्मलाई व्यवसायिक रुपमा अगाडि बढाउन सहज हुने विश्वास स्थानीय किसानहरुले गरेका छन् ।
त्यसबाहेक कृषि ज्ञान केन्द्र धनकुटाले उत्कृष्ट कृषि कर्मका आधारमा किसानहरूलाई सम्मान गर्ने, खाद्य सुरक्षाको महत्व र त्यसमा किसान तथा सरकारहरुले गर्नुपर्ने भूमिकाको बारेमा पनि विस्तृतमा छलफल गरी सचेतना अभिवृद्धि गराउने कार्यक्रम गर्दै आएको छ ।
यस वर्षमात्र केन्द्रले उत्कृष्ट कृषकको रुपमा केन्द्रले मेघबहादुर खड्का, लालमान राई र डम्बरबहादुर रायलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगदसहित सम्मान गरेको छ त्यस्तै कृषिलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउँदै विद्यार्थीहरुमा त्यसका बारेमा सचेतना वृद्धि गर्न शैक्षिक प्रतियोगिता सञ्चालन गरेको छ । ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ विषयक निबन्ध लेखन प्रतियोगिताको आयोजना गरी विद्यार्थीहरूमा खाद्य सुरक्षाको चेतना जगाउने प्रयास पनि गरिएको थियो । जसमा प्रतिभा सुवेदी, आर्सी अधिकारी र सतिस सुवेदीले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाए ।



