धान दिवसको उल्लास र अर्बौंको आयातको पीडा: खेतमा रोपाइँ, भान्सामा परनिर्भरता

काठमाडौं । आज असार १५, राष्ट्रिय धान दिवस। देशभरका किसान ‘छुपुछुपु हिलोमा धान रोपेर’ र दही-चिउरा खाएर यो दिवस मनाउँदै छन्। असारे भाकाको सुरिलो लयसँगै खेतका गह्राहरूमा रोपाइँको रौनक छाएको छ। तर, यो उत्सव र उल्लासको पृष्ठभूमिमा एउटा तीतो र मार्मिक यथार्थले हामीलाई गिज्याइरहेको छ – जुन देश धान दिवस मनाउँछ, त्यही देश आज धान र चामलमा सबैभन्दा बढी परनिर्भर बन्दै गएको छ।

विसं २०६२ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले कृषिप्रधान देशको पहिचान र किसानको मिहिनेतलाई सम्मान गर्छ। कामले थाकेको शरीरमा दही-चिउराले शीतलता र ऊर्जा दिने विश्वासका साथ हरेक नेपाली यो पर्वमा रमाउँछन्। तर, हामीले खाने दही-चिउराको चामल र भान्सामा पाक्ने भात आफ्नै खेतको हो या विदेशबाट आयातित हो भन्ने प्रश्नले आज धान दिवसको सान्दर्भिकतामाथि नै प्रश्न उठाएको छ।

कुनै समय थियो, जब नेपाल चामलमा आत्मनिर्भर मात्र थिएन, प्रमुख निर्यातकर्ता थियो। विसं २०३६ सालसम्म नेपालको चामल सार्क मुलुक हुँदै दक्षिण कोरिया, चीन, मलेसिया र अमेरिकी बजारसम्म पुग्थ्यो। तर, आज त्यो गौरवपूर्ण इतिहास कथा जस्तो लाग्छ। भात खाने संस्कार बढ्दै जानु तर उत्पादन प्रणाली कमजोर हुनुको परिणाम आज देशले वर्षमा करिब आधा खर्ब रुपैयाँको धान, चामल र त्यसको बीउ आयात गर्नुपर्ने दर्दनाक अवस्थामा आइपुगेको छ।

आयातको कहालीलाग्दो तथ्यांक

भन्सार विभागको तथ्यांकले परनिर्भरताको भयावह चित्र प्रस्तुत गर्छ। नेपालले अहिले दैनिक औसतमा साढे १३ करोड रुपैयाँ बराबरको धान र चामल आयात गरिरहेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) को आँकडा हेर्दा मन नै सिरिङ्ग हुन्छ। यो अवधिमा नेपालले ३५ अर्ब ५३ करोड ८० लाख १२ हजार रुपैयाँ बराबरको ६ लाख ९८ हजार ९०५ मेट्रिक टन धान-चामल आयात गरेको छ। यसबाट सरकारले ३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरे पनि देशको ठूलो रकम बाहिरिएको छ।

बीउदेखि भातसम्म पराइकै भर

विडम्बना कतिसम्म छ भने, हामीले खेतमा रोप्ने धानको बीउसमेत विदेशबाटै आयात गर्छौं। तथ्यांकअनुसार, १० महिनामा:

धानको बीउ: ८१ करोड ८२ लाख रुपैयाँको (१८५०.७९ मेट्रिक टन)

धान (चामल नबनाइएको): १८ अर्ब ९५ करोड रुपैयाँको (४,९५,१३८ मेट्रिक टन)

बासमती चामल: ६ अर्ब ५४ करोड रुपैयाँको (५९,६३४ मेट्रिक टन)

अन्य चामल: ८ अर्ब ९९ करोड रुपैयाँको (१,३६,७४४ मेट्रिक टन)

कनिका: २२ करोड ८२ लाख रुपैयाँको (५५३३.३४ मेट्रिक टन)

ब्राउन चामल: ७ लाख ३६ हजार रुपैयाँको (४.३५ मेट्रिक टन)

यो तथ्यांकले स्पष्ट पार्छ– हाम्रो परनिर्भरता खेतको बीउदेखि भान्साको भातसम्म फैलिएको छ। एकातिर खेतमा पसिना बगाउँदै भविष्यको आशा रोप्ने किसान छन्, अर्कोतिर हरेक छाकका लागि विदेशको मुख ताक्नुपर्ने राष्ट्रिय विवशता छ।

धान दिवसको रमझममा दही-चिउरा खाँदै गर्दा अब हामीले सोच्नैपर्ने भएको छ – के हाम्रो भान्सामा पाक्ने भात आफ्नै माटोको सुगन्ध बोकेको छ? या पराइको पसिनाले भरिएको बोराबाट आएको हो? यो दिवसले उत्सव मात्र होइन, कृषिप्रधान देशको यो मार्मिक अवस्थाबारे गम्भीर आत्मसमीक्षा र ठोस नीतिको माग गरेको छ। नत्र, हाम्रा खेतहरू बाँझिदै जानेछन् र धान दिवस केवल आयातित चामल खाएर मनाइने एक औपचारिक पर्वमा सीमित हुनेछ।-स्रोत :कृषि सुचना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।