राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी रेनुकालाई, पहिलो रोजाईमा परिनन् एञ्जिला
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी रेनुका नगरकोटीले पाएकी छन् ।
मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा रेनुकालाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् ।
यसअघिकी कप्तान एञ्जिला तुम्बापो सुब्बा भने लाओसविरुद्ध पहिलो रोजाईमा समेत परेकी छैनन् । एञ्जिलाले सन् २०१९ देखि नेपाली टोली सम्हाल्दै आएकी थिइन् ।
रेनुका नगरकोटी चीनमा आयोजना भएको १९औं एसियन गेम्सको अभ्यास क्रममा घाइते भएपछि तत्कालीन कोच कुमार थापाले एञ्जिलालाई कप्तानको जिम्मेवारी दिएका थिए ।
नयाँ मुख्य प्रशिक्षकले पुनः रेनुकालाई कप्तानको जिम्मेवारीमा फर्काएका छन् ।


