सांगुरीगढीको आहालेमा साउने सक्रान्ति विशेष फुटबल प्रतियोगिता हुने
हिराराज राई , धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९, आहालेस्थित मेलाचौरमा साउने सक्रान्ति विशेष अवसर पारेर देउराली युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको छ।
स्थानीय युवा तथा खेलप्रेमीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगिता साउन १ गते बिहान १०:०० बजेबाट सुरु हुने आयोजकले जनाएका छन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले अधिकतम ७ जना खेलाडी र २ जना विकल्पसहितको टिम बनाएर सहभागी हुन सक्नेछन्।
इन्ट्री शुल्क रू. ३५००/- तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम समय साउन १ गते बिहान ९:०० बजे सम्म तोकिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई प्रथम र द्वितीय पुरस्कार प्रदान गरिनेछ। कार्यक्रममार्फत खेलकुदको माध्यमबाट स्थानीय युवाबीच आपसी सद्भाव, अनुशासन र सामाजिक एकता प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
देउराली युवा क्लबले प्रतियोगितामा स्थानीयवासी, खेलप्रेमी तथा समस्त जनसमुदायको सक्रिय सहभागिता र समर्थनको आग्रह गरेको छ।


