साँगुरीगढीको आहालेमा साउने संक्रान्ति विशेष फुटबल प्रतियोगिता सम्पन्न,आयोजक देउराली युवा क्लब बन्यो बिजेता
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९, आहालेस्थित मेलाचौरमा साउने संक्रान्तिको अवसर पारेर आयोजना गरिएको विशेष फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता देउराली युवा क्लबको आयोजनामा साउन १ गतेदेखि सुरु गरिएको थियो।

स्थानीय युवा र खेलप्रेमीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त प्रतियोगितामा विभिन्न स्थानीय टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो र फाइनल खेलमा आयोजक देउराली युवा क्लब र सालुम बीच प्रतिस्पर्धा भएको थियो।
उक्त प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक देउराली युवा क्लबले ७ गोल गरि विजयी बन्न सफल भयो र उपविजेता सालुमले २ गोल मात्र गरेका थिए। विजेता टोलीले नगद र रू. १८,०००/- पुरस्कार प्राप्त गर्यो भने उपविजेता बनेको सालुमले नगद रु. ९,०००/- प्राप्त गर्यो।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नमा स्थानीयवासी, खेलप्रेमी र सम्पूर्ण जनसमुदायको उल्लेखनीय सहयोग र समर्थन रहेको आयोजक क्लबले जनाएको छ। साथै, क्लबले आगामी दिनमा पनि यस्ता खेल निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


