पूर्व राष्ट्रपति भण्डारीको सक्रियता एजेण्डाविहीन, एमालेको विकल्प खोज्ने प्रयास मात्र :हरिबोल गजुरेल
धनकुटा,३ साउन । नेकपा माओवादी केन्द्रका नेता तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई “एजेण्डाविहीन” भन्दै खारेज गरेका छन्।
शनिबार बिहान धनकुटामा आयोजित पत्रकार भेटघाटमा बोल्दै गजुरेलले भण्डारीको सक्रियता एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पको रुपमा सीमित रहने दाबी गरे।
उनले भण्डारी राष्ट्रपति हुँदासमेत साझा र निष्पक्ष भूमिका खेल्न नसकेको आरोप लगाउँदै माओवादी केन्द्रले उनको राजनीतिक सक्रियतालाई खासै महत्व नदिएको स्पष्ट पारे। “पूर्व उपराष्ट्रपति नन्दकुमार पुन सक्रिय राजनीतिमा फर्किँदा हामीले स्थान दिएका छौँ, तर भण्डारीको हकमा त्यस्तो अवस्था छैन,” उनले भने।
वर्तमान राजनीतिक परिदृश्यमा सरकारमा जान माओवादी केन्द्र इच्छुक नभएको स्पष्ट पार्दै गजुरेलले एमालेसँगको कुनै पनि समीकरण असम्भव भएको बताए। ‘निर्णायक कांग्रेस भए पनि हामी सरकारमा जान्न,’ भन्दै उनले ‘मिशन चौरासी’ अन्तर्गत पार्टी पहिलो बन्ने दाबी पनि गरे।
गजुरेलले पार्टीभित्रको वैचारिक विचलन, कार्यशैलीको कमजोरी सच्याउँदै संगठनलाई बलियो बनाउने रणनीतिमा माओवादी केन्द्र अघि बढिरहेको जानकारी दिए।
फरक प्रसंगमा उनले समाजवादी अध्यक्ष माधव नेपाल र नेता वामदेव गौतमको संभावित एकतालाई “माया बैगुनी, नभइ नहुने” भनेर ठट्यौली टिप्पणी गर्दै वामदेवलाई पार्टी प्रमुख बनाइए पार्टी नै सिद्दिने चेतावनी पनि दिए।-स्रोत :रुटिन अफ धनकुटा बन्द


