नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, ६ भदौ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा.मदन परियारलाई सिफारिस गरेकी थिईन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्तिको लागि ५ जनाको नाम पठाएको भए पनि डा.संगीता कौशल मिश्रालाई भने मन्त्री नयुक्ति गरिएन । यसअघि उनलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा.मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएर मन्त्री बन्ने तयारी गरेकी थिईन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा.मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्कीले नियुक्ति अगाडि नबढाएकी हुन् ।
प्रधानमन्त्री कार्कीले यसअघि ऊर्जा तथा जलस्रोत मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन् । प्रधानमन्त्री कार्कीले यसअघि नै नौ सदस्यीय मन्त्री परिषद् बनाउने घोषणा गरिसकेकी छन् । प्रधानमन्त्री कार्कीको क्याबिनेटमा स्वाथ्यमन्त्रीको अर्को सम्भावित पात्रबारे खोजी भइरहेको बताइएको छ ।


