सोलुखुम्बुको थुलुङ दुधकोशीमा भीषण आगलागी, २० लाख रुपैयाको क्षति
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसा आगलागी भएको छ । हरिसचन्द्र राईको दुईतले घरमा गएराति भीषण आगलागी भएको हो ।
राति करिब साढे ३ बजेतिर सुरु भएको आगलागीको कारण अझै खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो ।
प्रहरीलाई जानकारी गराएपश्चात् तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, आगो नियन्त्रणमा लिनु अघि नै घर पूर्ण रूपमा जलेर नष्ट भएको सूचना अधिकारी विकास राइले बताउनुभयो ।
प्रहरीका अनुसार उक्त आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ। घटनास्थलमा घरधनी हरिसचन्द्र राई हाल काठमाडौमा बस्दै आएका कारण घरमा परिवारजन बसोबास नभएको र यसले मानवीय क्षति हुनबाट बचाएको जनाइएको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-सोलु एफएम


