पाख्रिबास नगरपालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षकहरुको चेतावनी : आज तलब निकासा नगरिए आन्दोलन गर्ने
धनकुटा,१२ असोज । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुले आज पनि तलब निकासा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल शिक्षक महासंघ आवद्द एकिकृत अखिल नेपाल शिक्षक संगठन पाख्रीबास,नेपाल शिक्षक संघ पाख्रीबास नगर समिति,नेपाल राष्ट्रिय शिक्षक संगठन पाख्रीबास नगर समितिले संयुक्क रुपमा एक विज्ञप्ति प्रकाशित गर्दै तलब निकासा गरिदिन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ –
पाख्रीबास नगरपालिकाभित्र कार्यरत शिक्षक कर्मचारीहरुले पाख्रीबास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक उन्नयनका लागि इमान्दार, कर्तव्यनिष्ठ, जिम्मेवार तथा उच्च नैतिक आचरणको पालना गर्दै नगरपालिकाभित्रका बिभिन्न भौगोलिक क्षेत्रभित्र सञ्चालित सामुदयिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको भविष्य निर्माणका खातिर अहोरात्र कार्य गर्दै आएको कुरा सर्वविदितै छ ।
पाख्रीबास नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीहरुको आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रैमासिक श्रवण, भाद्र र आश्विन महिनाको तलब भत्ता तथा चाडाबाड खर्च पाख्रीबास नगरपालिकाबाट सामुदायिक विद्यालयहरुमा निकासा हुन नसक्नु दुःखद र आपत्तिजनक रहेको छ ।
नेपालीहरुको महान चाडबाडको मुखमा लामो समय तलब भत्ता निकासा हुन नसक्दा टाढा टाढा घर जानुपर्ने शिक्षक कर्मचारीहरु बेखर्ची भई अलपत्र परेको अवस्था छ भने दैनिक व्यवहार टार्न समस्या भएको यस कठिन परिस्थितिमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
नगरपालिकामा पटक पटक ताकेता गर्दा पनि समस्या जस्ताको तस्तै रहनुले गैरजिम्मेवारीपन प्रष्ट झल्किन्छ । धनकुटा जिल्ला भित्र अरु सबै पालिकाहरुमा यसकिसिमको समस्या नरहेको कुरा सबैलाई जगजाहेर नै छ ।
दशै विदा भोलिदेखि हुने परिस्थितिमा पालिकाबाट कयौपटक आश्वासनका गुच्छाहरु पस्किरहदा शिक्षक कर्मचारीहरु आर्थिक भुमरीमा छटपटाइरहेको बर्तमान परिप्रेक्षमा शिक्षक कर्मचारीका पेशागत संघ संगठनहरु मुकदर्शक बनेर बस्न नसक्ने यथार्थलाई मनन गर्दै यथाशिघ्र बैंकहरुबाट आज सबै शिक्षक कर्मचारीहरुको खातामा निकासा हुने वातावरण नमिलाए हामी जस्तो सुकै कदम चाल्न पनि बाध्य हुने व्यहोरा संबद्ध पालिका समक्ष अनुरोध गर्दछौ ।

Screenshot


