कि नेताको दास बन्न स्वीकार्नुस कि पासपोर्ट बनाउनुस्
मोहन राई,धनकुटा । हुनत दशैं मनाउने,नमनाउनेमा आ-आफ्नै तर्क र मतभेदहरु रहि आएकै छन् तथापि म जन्मेपछि थाहा हुने सम्ममा हामीले मान्दै रहि आएको चाड हो दशैं-तिहार ।

यस अर्थमा पनि हरेक साल मनाइदै आइएको छ तर यसपालिको दशैं थप खुशीका साथ मनाइयो । कारण थुप्रै छन् त्यसमा केही कारण-
-हरेक बर्षको दशैंमा टीका थाप्न गाउंतिर जाने परिवार यसपाली नीजि घरमा मनाउन पाइयो ।
-जिवनको ५० औं बसन्त पार गरिसक्दा यो दशैंमा परिवारले मेरो हातबाट पहिलो पल्ट दशैंको टीका लगाउन साइत जुर्यो ।
यद्यापि टीकाको भोलिपल्टनै छोरी पढाईको सिलसिलामा बाह्य मुलुक जानु पर्ने स्थितिले काठमाडौ जानु पर्ने तय थियो,नरमाइलो मान्दै भएपनि छोरीको खुशी र भबिष्यको लागि बिदाई गरियो ।
मनमा अनेकौं प्रश्नहरु छन् तैपनि पढाई र भबिष्य भन्दा ठुलो केही हुन्न नै भन्दै मनलाई सान्त्वना दिने कोशिष गरें । छोरीको पढाई प्रतिको लगाव र अहिले सम्म गरेका कामहरु सांच्चै नै गर्व गर्न लायक छन् ।
छोरी मान्छे हुंदा घर स्वर्ग जसरी हुन्छ नै तर पढाईको साथमा भबिष्यलाई पनि हेर्नु पर्छ नै । हरेक बुबा-आमाको सपना हुन्छ आफ्नो छोरा-छोरीले राम्रो गरुन् ।
यस अर्थमा दशैं जिवनकै रमाइलो पलमा राखे कि पहिलो पल्ट सपरिवार टीकाको दिन बसेर रमाइलो गरियो । यस अर्थमा नरमाइलो पनि भयो कि छोरी चाडबाडको बेला हातमा पासपोर्ट लिएर एयरपोर्टमा पुग्नु पर्ने ।
तथापि आफ्नो पढाईको लागि हो,खुशी नै मान्नु पर्छ । भबिष्य बनाउनलाई हो गर्ब नै मान्नु पर्छ ।
अझ हजारौं मेरा जस्तै छोरा-छोरीहरु यसरी चाडबाडको बेला हातमा पासपोर्ट बोकेर एयरपोर्टमा लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य के होला त ?
देशमै पढाई,सीप,क्षमता अनुसारको काम कहिले पाउने त ? यी प्रश्नहरुको जवाफ पनि हामीले खोज्नै पर्छ ।
देशको वर्तमान परिस्थितिबारे हामी जानकार नै छौ । जागिर पाउन कि कुनै दलको ब्यक्ति हुनुपर्छ वा आफ्नो मान्छे कुनै राजनैतिक दलको नेता हुनै पर्छ नत्र आफ्नो क्षमताले कही कतै जागिर खान मुश्किल छ । कि लोकसेवा पास गर्न सक्नु पर्यो नत्र स्थानिय तहमा खोलिएका जागिर त्यही राजनैतिक दलको भागबण्डा र दलका नेताहरुको आफ्नो मान्छेलाई सरकारको पैसा खुवाउने एउटा थलोमै सीमित छ ।
अब नयां युवा पुस्ताले यसको खुलेरै विरोध गर्न नसके यो पारीपाटी यथावत रहनेमा द्विविघा छैन । दलमा आफ्नो मान्छे नहुनेले जति नै पढेपनि ,सीप क्षमता भएपनि पास्पोर्ट हातमा लिएर बिदेशिनु नै पर्छ सदियौं सम्म ।
तसर्थ कि नेताको दास बन्न स्वीकार्नुस कि पासपोर्ट बनाउनुस् को अवस्थाबाट गुज्रिरहने हो हामी सर्वसाधारण ।
(लेखक नेपाली समाचार डटकमका कार्यकारी सम्पादक पनि हुन् ।)


