धनकुटाको साँगुरीगढीमा अविरल वर्षाले बाढी र पहिरोको ठूलो असर, मानवीय क्षति भने छैन
हिराराज राई,धनकुटा । देशभर विभिन्न स्थानमा परेको अविरल वर्षाको प्रभाव धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ मा समेत देखिएको छ। बाढी र पहिरोका कारण घर, गोठ, खेत, अन्नबाली र पशुचौपायामा ठूलो क्षति पुगेको भएता पनि मानवीय क्षति भने भएको छैन।
गत असोज १८ र १९ गते लगातार परेको वर्षाले गाउँका धेरै स्थानमा क्षति पुर्याएको छ। कसैको घर र गोठ पुरिएका छन् भने कतिपयको खेतबारी बगाएका छन्। पाक्न लागेको अन्नबाली तहसनहस भएको छ र पशुचौपायाको पनि ठूलो नोक्सानी भएको स्थानीयले बताएका छन्।
यद्यपि मानवीय क्षति नभएकोमा गाउँवासी र स्थानीय तहले राहतको रूपमा लिएका छन्।
वडा नं. ९ का अध्यक्ष जितबहादुर राई का अनुसार दशैं मनाउन गाउँ फर्किएका थुप्रै मानिसहरू अहिले शहर फर्किन नसक्ने अवस्थामा छन्।
“ठाउँ–ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हुँदा हिँडेरै फर्किनुपरेको बाध्यता छ। कतिपयले आफ्ना सवारीसाधन गाउँमै छाडेका छन्,” अध्यक्ष राईले भने, “हामी पाहुनालाई सहज रूपमा बिदा गर्न नसक्नुमा दुःखी छौँ।”
उनका अनुसार मौसम खुलेसँगै गाउँपालिका र धरान–२० सँग समन्वय गरी सडक खुलाउने कार्य तीव्र पारिएको छ। यद्यपि धेरै स्थानमा सडक क्षति पुगेकाले सबै बाटो खुल्न अझै केही समय लाग्ने बताइएको छ।
अध्यक्ष राईले अबरुद्ध सडक खोल्न र आवतजावत सहज बनाउन सर्वसाधारण, स्थानीय निकाय र सम्बन्धित निकायहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।




