धरान विष्णुपादुका आहाले सडकखण्डमा पहिरोका कारण अवरुद्ध सडकको सरसफाइ कार्य सुरु
हिराराज राई,धनकुटा । धरान विष्णुपादुका आहाले सडक अन्तर्गत कोकाह खोलादेखि सडक सरसफाइको काम धरान उपमहानगरपालिका वडा नम्बर २० ले सुरु गरेको छ। गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो गएपछि आवतजावत अवरुद्ध भएको थियो।
साँगुरीगढी गाउँपालिकाका वडा नं. ८, ९ र १० मा पनि पहिरोले ठूलो क्षति पुर्याएको हुँदा त्यस क्षेत्रका सडकहरू खुलाउन समय लाग्ने ९ नं. वडाध्यक्ष जीत बहादुर राईले जानकारी दिनुभयो।
वडा नं. ९ का अध्यक्ष राईका अनुसार धेरै ठाउँमा ठूला–ठूला पहिरो खसेकाले सडक पूर्णरूपमा खोल्न भोलिसम्म समय लाग्ने देखिएको छ। उनले भने, “पहिरो धेरै ठाउँमा झरेकोले एकैपटक सबै सडक खोल्न सम्भव छैन, प्राथमिकताका आधारमा काम भइरहेको छ।”
स्थानीय प्रशासनका अनुसार आवश्यक उपकरण र जनशक्ति परिचालन गरी पहिरो पन्छ्याउने तथा सडक मर्मतको कार्य तीव्र गतिमा अघि बढाइएको छ।



