सांगुरीगढीको भुल्के धारापानीमा स्थानीयको पहलमा सडक सरसफाई र मर्मत कार्य जारी
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–१०, भुल्के धारापानीका स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा सडक सरसफाई तथा मर्मत कार्यलाई तीव्रता दिएका छन्।
गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण गाउँका विभिन्न भागमा सडक अवरुद्ध भएपछि स्थानीय जनसमुदायले श्रमदानमार्फत सडक खोल्ने र सरसफाई गर्ने काम सुरु गरेका हुन्।
वर्षाका कारण पहिरोले सडकमा माटो बगाएको, ढुंगामाटो थुप्रिएको र कतिपय स्थानमा सडक पूरै अवरुद्ध भएको थियो। स्थानीयवासीको सक्रिय सहभागितामा सडक सफा गर्ने काम धमाधम भइरहेको १० नम्बर वडा अध्यक्ष एक बहादुर राईले धनकुटा खबरलाई जानकारी दिएका छन्।
अध्यक्ष राईका अनुसार कतिपय टोलका सडकहरू अहिले पूर्ण रूपमा खुलाइसकिएको छ भने बाँकी क्षेत्रमा पनि निरन्तर रूपमा सरसफाई र मर्मत कार्य चलिरहेको छ।



