हल्लाको राजनीति : सत्ता, सञ्जाल र भयको निर्माण

योञ्जन डी. चन्द्र । जब सत्ताले आफ्नो नैतिक वैधता गुमाउन थाल्छ, तब भय उसको सबैभन्दा सहज औजार बन्छ । नेपालको राजनीतिक इतिहास हेर्दा यो कुरा बारम्बार दोहोरिएकै देखिएको छ र देखिन्छ । हल्ला त्यही भयको भाषिक रूप हो, जसले समाजमा अविश्वासको छाया फैलाउँछ । आजको नेपालमा चलिरहने हल्लाहरू केवल अफवाह होइन; यो सत्ताको रणनीतिक संवाद हो, जसले जनतालाई असुरक्षाको बोध गराएर सबैलाई नियन्त्रणमा राख्छ । “गुम्बामा हतियार लुकाइयो” भन्ने प्रचार पनि त्यस्तै हो ।

(लेखक)

हल्ला यस्तो कथा हो, जसले कुनै प्रमाण होइन, तर राजनीतिक अर्थ उत्पादन गर्छ । यस्तो हल्ला फैलाउनेहरूले धार्मिक प्रतीक र सांस्कृतिक स्थानहरूलाई सत्ताको भाष्यभित्र बाँध्छन्, जसले नागरिकबीचको सम्बन्धमा शङ्का, भय, र विभाजन ल्याउँछ । समाजशास्त्रले भन्छ, “जब सत्ता आफ्नो प्रत्यक्ष हिंसालाई वैध ठहर्याउन खोज्छ, तब त्यो प्रतीकात्मक हिंसाको शरण लिन्छ ।” नेपालमा चलिरहेको र चलिरहने हल्ला यही प्रतीकात्मक हिंसा हो, शब्द र शङ्कामार्फत् सत्ताको पुनःस्थापना गर्ने प्रविधि र प्रवृत्ति दुवै हो ।

गुम्बामा हातहतियारको हल्ला : प्रमाणभन्दा बढी प्रचार

नेपाल प्रहरीका तथ्याङ्क र सम्बन्धित समाचारहरूले स्पष्ट देखाउँछन् कि देशभर हराएका केही हतियारहरू पुराना द्वन्द्वकालीन सन्दर्भसँग जोडिएका थिए, तर कुनै पनि बौद्ध गुम्बा वा धार्मिक स्थलबाट ती बरामद भएको प्रमाण भेटिएको छैन । तथापि, सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूले यो हल्लालाई यति निरन्तरता दिए कि जनमानसमा ‘गुम्बा’ नै ‘सुरक्षाको खतरा’का रूपमा प्रस्तुत हुन थाल्यो । यसरी हल्ला तथ्य होइन, एउटा सामाजिक कल्पना (social imaginary) मा रूपान्तरण हुन्छ, जहाँ ‘अरू’लाई सधैँ ‘सम्भावित शत्रु’ को रूपमा चित्रित गरिन्छन् ।

बौद्ध गुम्बा केवल धार्मिक पूजाको स्थल होइन, त्यो नेपाली बौद्ध समुदायको सांस्कृतिक स्मृति, सामाजिक एकता, र आत्म–पहिचानको केन्द्र हो । त्यसैले, यसमाथिको शङ्का केवल एक स्थानमाथिको होइन, एक सभ्यता र चेतनामाथिको आक्रमण हो । समाजशास्त्रीय दृष्टिले हेर्दा, यस्तो हल्ला सत्ताको प्रतीकात्मक दमन (symbolic domination) हो, जहाँ सत्ताले भाष्यको माध्यमबाट परिधिमा रहेका समुदायहरूको अर्थ निर्माणमाथि नियन्त्रण गर्छ । हल्ला त्यस अर्थको पुनर्लेखन हो, जसले गुम्बालाई प्रार्थनाको होइन, खतरा र षड्यन्त्रको प्रतीकमा परिणत गर्छ । यस्तो कथाले केवल जनविश्वास नष्ट गर्दैन, विविधतामाथिको सम्मान र सहअस्तित्वको भावना पनि क्षीण बनाउँछ ।

हल्ला फैलाउनेहरूको मनोविज्ञान र उद्देश्य

नेपालका कथित राजनीतिक विश्लेषकहरू सामान्यतया स्वतन्त्र बौद्धिक होइनन्, सत्ताको प्रतिध्वनि हुन् . उनीहरूको हरेक भनाइले राज्यको दृष्टिकोणलाई जनताको भाषामा पुनःव्याख्या गर्छ । उनीहरू जनभावनालाई उद्दीप्त पार्ने शैलीमा बोल्छन्, तर त्यो आवाज वास्तवमा स्वतन्त्र चेतनाको होइन, त्यहाँ परम्परागत सत्ताको छायाको हुन्छ । हल्ला फैलाउने यस्ता पात्रहरूलाई बुझ्न समाजशास्त्रका सैद्धान्तिक उपकरणहरू अत्यन्त उपयोगी छन् । बौर्डियूका अनुसार समाजमा शक्ति केवल आर्थिक र राजनीतिक नभई प्रतीकात्मक पनि हुन्छ । जब विश्लेषकहरूले ‘सुरक्षाको मुद्दा’, ‘राष्ट्रको हित’, वा ‘धार्मिक खतरा’ जस्ता शब्द प्रयोग गर्छन्, उनीहरूले भाषाको माध्यमबाट सत्तालाई प्रतीकात्मक पूँजी (symbolic capital) प्रदान गर्छन् ।

यो हल्ला फैलाउने मनोविज्ञान पाँच तहमा बुझ्न सकिन्छ । पहिलो, सत्तासँग नजिक देखिनु स्वयम् एक शक्ति हो; त्यसले उनीहरूलाई मान्यता र सुरक्षाको आभास दिन्छ । दोस्रो, मिडिया–अर्थव्यवस्था र क्लिक–संस्कृतिले भय र आक्रोशलाई बजारको वस्तु बनाइदिएको छ । डिजिटल युगमा सत्यभन्दा बढी बिक्ने कुरा ‘त्रास’ हो । तेस्रो, नेपालको ऐतिहासिक सांस्कृतिक संरचना अझै हिन्दू–राज्यको मान्यतामा अडिएको छ, जसले गैर–मुलधारीय धर्म र समुदायप्रति सधैं संशय पाल्ने गरेको छ । त्यसैले बौद्ध वा जनजातीय समुदायमाथि हल्ला फैलाउँदा त्यसले सामाजिक पूर्वाग्रहलाई राजनीतिक वैधता दिन्छ । चौथो, ज्ञान र तथ्यजाँचको संस्थागत अभ्यास कमजोर हुँदा हल्लाले सजिलै ‘विश्लेषण’ को रूप लिन्छ । र पाँचौँ, यस्तो हल्लाले सत्ताको नियन्त्रणलाई औचित्य दिन्छ, र भन्छ; “देश असुरक्षित छ, त्यसैले कठोर शासन आवश्यक छ।” फुकोको शासकीयता (governmentality)को सिद्घान्तले यही बताउँछ; “शासन केवल कानूनी शक्ति होइन, भय र अनुशासनका माध्यमबाट चल्ने मानसिक शासन पनि हो ।”

‘निर्देशन’ को प्रश्न : कसको इशारामा ?

सार्वजनिक रूपमा कुनै ठोस प्रमाण छैन कि यस्ता हल्लाहरू प्रत्यक्ष रूपमा कुनै संस्थाबाट निर्देशित छन् । तर समाजशास्त्रीय दृष्टिले निर्देशन सधैँ आदेशको रूपमा मात्र हुँदैन; कहिलेकाहीँ यो विचार, दृष्टिकोण, र शब्द चयनमा देखिने समानता अर्थात् भाष्यगत सुमेल (discursive alignment)का रूपमा प्रकट हुन्छ । कथित विश्लेषकहरू सत्ताको विचारधारासँग स्वाभाविक रूपले यस्तो सुमेल गराउँछन्, किनकि त्यसले उनीहरूलाई मञ्च, दृश्यता, र सुरक्षा प्रदान गर्छ । उनीहरूको अस्तित्व नै सत्ताको भाष्यलाई सामान्य जनचेतनामा अनुवाद गर्नु हो । यसरी उनीहरू राज्य र नागरिकबीचको मध्यस्थता गर्छन्, तर त्यो मध्यस्थता तटस्थ हुँदैन । यो परम्परागत सत्ताको भाषा, प्रतीक, र अर्थलाई जनताको भाषामा ढाल्ने काम हो ।

यसलाई ग्राम्सीको सर्वसत्ता अर्थात् हेगेमनी (hegemony) सिद्धान्तले यसरी स्पष्ट गर्छ कि सत्ता केवल बलद्वारा होइन, सहमति र विश्वासका माध्यमबाट स्थिर रहन्छ । हल्ला फैलाउनेहरूले यही सहमति निर्माण गर्छन् । उनीहरू हल्लालाई ‘देशभक्तिको प्रमाण’ जसरी प्रस्तुत गर्छन्, जसले जनतालाई असल–नागरिक बन्नका लागि शङ्का गर्न सिकाउँछ । यो सामाजिक नियन्त्रणको सूक्ष्म तर प्रभावकारी रूप हो, जहाँ सत्य खोज्ने होइन, सत्ताको दृष्टिकोणसँग मिल्ने कुरा बोल्ने मान्छे नै ‘राष्ट्रवादी’ ठहरिन्छ । यस्तो मानसिक शासन अन्ततः विचार स्वतन्त्रताको मृत्यु हो, जहाँ विवेकलाई प्रचारले प्रतिस्थापन गर्छ ।

हल्ला र समाज : विभाजनको राजनीति
हल्ला केवल वाक्य होइन, सामाजिक संरचनामा हलचल ल्याउने कार्य हो । जब कुनै धर्म, समुदाय वा संस्थामाथि हल्ला केन्द्रित हुन्छ, त्यसले सामाजिक सन्तुलन बिगार्छ । विश्वासको विघटन तब हुन्छ जब नागरिकले आफ्नै सहनागरिकलाई सम्भावित शत्रुका रूपमा हेर्न थाल्छ । यस्तो मानसिकता समाजको सामूहिक चेतनामा गहिरो घाउ छोड्छ । हल्लाले गुम्बाजस्तो शान्त स्थललाई ‘राजनीतिक जोखिम’को प्रतीक बनाउँछ, जसले विविधता र सहअस्तित्वको संस्कृतिलाई कमजोर पार्छ ।

संवादको मृत्यु त्यसपछि आउँछ, जहाँ तथ्य र बहसको ठाउँमा आरोप, घृणा, र प्रतिक्रियाले कब्जा गर्छन् । यस्तो अवस्था समाजमा कृत्रिम रूपमा सिर्जित नैतिक आतङ्क (moral panic) को परिभाषासँग मेल खान्छ, जहाँ केही प्रतीकहरूलाई सामूहिक शत्रु बनाइन्छ । नेपालमा गुम्बा र बौद्ध समुदायमाथिको हल्ला यही प्रक्रियाको उदाहरण हो । यसले केवल धार्मिक सहिष्णुता नष्ट गर्दैन, राजनीतिक नैतिकतालाई पनि दूषित बनाउँछ । जब राज्य वा समाज निरन्तर भयमा बस्छ, तब आलोचना, विचार, र विविधताप्रतिको सम्मान हराउँछ । अन्ततः हल्लाले समाजलाई “हामीको रूपमा बसेको समाजलाई उनीहरू” मा परिणत गराउँछ, जसको अन्त्य सधैँ सामाजिक अविश्वास र नैतिक विघटनमै हुन्छ ।

निष्कर्ष : सत्य र विवेकको पुनःस्थापना
नेपालमा राजनीतिक विश्लेषणको संस्कृति अझै परिपक्व हुन सकेको छैन । यहाँ बहसभन्दा बढी उद्घोष हुन्छ, र विचारभन्दा बढी प्रचार, र तथ्यभन्दा बढी भावनाको व्यापार हुन्छ । हल्लाको राजनीति त्यसैको विस्तारित रुप पनि हो, जहाँ सत्ता आफ्नो कमजोरी लुकाउन जनतालाई शङ्का र भयमा डुबाउँछ । यस्तो हल्ला केवल भ्रम फैलाउने कार्य होइन, यो सामाजिक चेतनामा नियन्त्रण गर्ने परियोजना हो । समाजशास्त्रले देखाउँछ कि यस्ता परियोजनाले दीर्घकालीन रूपमा लोकतन्त्रको आत्मालाई क्षति पुर्‍याउँछ, किनकि लोकतन्त्र सत्य र विवेकमा टेकेको हुन्छ, भय र भ्रममा होइन ।

तर आशाको ढोका बन्द छैन । यदि नागरिक समाज, विश्वविद्यालय, र अनुसन्धानात्मक पत्रकारिताले तथ्यमा आधारित बहसको अभ्यास सुदृढ गर्‍यो भने त्यही दिनबाट हल्लाको शक्ति क्रमशः कमजोर हुनेछ । सत्य र विवेकमाथि टिकेको लोकतन्त्र मात्र दीगो हुन्छ । यसको अर्थ कानूनी नियन्त्रणभन्दा बढी नैतिक पुनर्जागरण हो, एक यस्तो संस्कृति जहाँ नागरिकले हल्ला होइन, प्रमाण माग्छन्; भय होइन, विवेकमा भरोसा गर्छन् । नेपालको भविष्य त्यसैले हल्ला रोक्ने कानूनी उपायमा होइन, सत्य खोज्ने नैतिक अभ्यासमा निहित हुनुपर्छ ।

सत्य नै सधैँ राज्यभन्दा ठूलो हुन्छ, र विवेक सधैँ भयभन्दा बलियो हुन्छ । हल्लाको राजनीतिले क्षणिक भ्रम दिन सक्छ, तर विवेक र संवेदनशीलतामा आधारित समाजले मात्र स्थायी शान्ति र सहअस्तित्वको आधार निर्माण गर्न सक्छ । यही नै हाम्रो सामूहिक उत्तरदायित्व हो, हामीले सत्ता र सञ्जालभन्दा माथि उठेर, सत्य र नैतिकताको साथमा बोल्ने साहस विकसित गर्नुपर्ने छ ।

Email: yonjandc@gmail.com
(लेखक समाजशास्त्रमा स्नातकोत्तर अनुसन्धानकर्ता हुन् ।-सह सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।