मोरङमा ‘जेनजी आन्दोलन’मा तोडफोड–आगजनी गरेको आरोपमा पाँच जना पक्राउ
मोरङ । मोरङ प्रहरीले भदौ २४ को ‘जेनजी आन्दोलन’का क्रममा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आवास पौडेल, अरुण साह, राजीव यादव, महेश नेपाल र ताजिम अन्सारी रहेका छन्।
मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीका अनुसार उनीहरू विभिन्न राजनीतिक दलसंग आबद्ध कार्यकर्ता हुन्। पाँचै जनालाई मोरङ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
‘अपराधिक उपद्रव’ मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ।
घटनामा संलग्नको पहिचान फोटो र भिडियोका आधारमा गरिँदै आएको प्रहरीले बताएको छ। यसअघि प्रहरी चौकी र गाडीमा आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरिसकिएको छ।


